
नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ । उहाँको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरुले आफुलाई चुन्नेमा विश्वस्त समेत रहेको बताउनुहुन्छ ।
धमलाको राजनीतिक जीवनः
वि. सं. २०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिनुभएका उहाँ सोही वर्ष नेविसंघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल हुनुभयो । विद्यार्थीकालमा निकै संघर्षपुर्ण राजनीतिक गरेका उहाँमाथी निकै ठुला ठुला भौतिक आक्रमण समेत भएको थियो । उहाँमाथी भिरबाट गुल्ट्याउनेसम्मको निकै निन्दनीय आक्रमण समेत गरिएको थियो । पन्चायत विरुद्धको आन्दोलनमा निकै सक्रिय भएर लाग्नुभएका उहाँ पटक पटक पक्राउ समेत पर्नुभएको थियो ।
धमलाले केही समय शिक्षण पेशामा समेत आवद्धता जनाउनुभएको थियो । नेपाल शिक्षक संघ धादिङको २०४७ सालमा स्थापना हुँदै गर्दा उहाँ संस्थापक सदस्य बन्न सफल हुनुभएको थियो । त्यसबेला काँग्रेसको सँगठन विस्तार अहोरात्र खटिरहेका उहाँ शिक्षक पेशाबाट अलग भएर पुर्णकालिन कार्यकर्ताको रुपमा राजनीतिमा होमिनुभएको थियो।
२०५३ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै २०५४ सालमा नेपाली कांग्रेस धादिङ, क्षेत्र नं.२. क्षेत्रीय सचिव बन्नुभएका उहाँ २०५५ सालमा गाविस राष्ट्रिय महासंघ सदस्य समेत बन्न सफल हुनुभएको थियो ।
निडर र प्रष्टवक्ता भएकै कारण धमलाले राजनीतिक रुपमा आफुलाई अगाडि बढाउन सफल भईरहनुभयो ।
२०५७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य बन्न सफल उहाँ माओवादीको निशानामा समेत पर्ने गर्नुभएको थियो ।
कसैको त्रास र डर धम्कीको वास्ता नगरि राजनीतिमा लागि रहनुभएका उहाँ २०६२मा नेपाली कांग्रेस धादिङको जिल्ला सदस्य बन्न सफल हुनुभयो ।
२०६२सालदेखि २०६७ सालसम्म नेपाली कांग्रेस, विदेश विभाग सदस्य(सचिवको रुपमा कार्यसम्पादन गर्नुभएका उहाँले आफ्नो राजनैतिक जीवनलाई अझै उचो बनाउन सफल हुनुभयो ।
उहाँ २०७२ सालमा सम्पन्न तेहौँ महाधिवेशनबाट नेपाली कांग्रेस धादिङको जिल्ला सभापति बन्न सफल हुनुभयो ।
निकै सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएका उहाँले आफ्नै कार्यकालमा काँग्रेस धादिङको पार्टी कार्यालय समेत निर्माण गर्न सफल हुनुभयो ।
उहाँ २०७४ सालमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुहुन्छ । त्यस बेला धादिङका जनताले उहाँलाई निकै राम्रो मत समेत दिएका थिए ।
सामाजिक आबद्धता
धमलाको राजनीति सँगै सामाजिक जीवन पनि उतिनै अर्थपुर्ण छ । २०५८ सालमा स्थापना भएको पर्यावरण संरक्षण मञ्च नेपालको उहाँ सँस्थापक अध्यक्ष हुनुहुन्छ ।
२०६० सालमा बाल भविष्य संगठन नेपालको सँस्था स्थापना गरेर उहाँले सयौ बालबालिका हरुलाई गुणस्तरीय शिक्षादिक्षा समेत दिन सफल हुनुभयो । त्यस सँस्थाको पनि उहाँ अध्यक्ष रहनुभएको थियो ।
२०६८ सालमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ(नेपालको अध्यक्ष रहनुभएका उहाँले २०७० सालमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । उहाँ नेपालको पर्यटन क्षेत्रलाई समेत राम्रोसँग बुझेका व्यक्ति हुनुहुन्छ ।
यस संगै २०६३ देखि उहाँ ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) नेपालको सदस्यको रुपमा समेत आवद्ध छन् ।
धमलाले नीति, विधि र पद्धतिमा आधारित पार्टी बनाई मजबुत संगठनको स्पष्ट मार्गचित्र कोरी आगामी निर्वाचनमा ३ वटै तहमा पार्टीलाई विजयी बनाउने संकल्पको साथ आफ्नो उम्मेदवारी दिएको बताउनुभयो ।
जवाफदेही, जिम्मेवार र गतिशील नेतृत्व नै काँग्रेसको अहिलेको आवश्यकता भएकोमा उहाँले जोड दिदैं सबै क्षेत्रमा संलग्न व्यक्तिहरुलाई पार्टी भित्र सँगठित गर्नु नै आफ्नो मुल उद्देश्य रहेको बताउनुभयो ।
