आयोजनामा भैरवनाथगढ र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धार कार्य भइरहेको छ । आयोजनाको सुरुङभित्र फसेका मानिसको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ । थ्री ‘बी’ मा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ । त्यसैगरी रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टिमले रेकी गरी पम्प र एक्सासिभेटरको तयारी भइरहेको छ । चिलिमे आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि नेपाली सेनाको टोलीले काम गरिरहेको बताइएको छ । चिलिमेमा भारतीय विज्ञ टोलीले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा प्याट्रोल भइरहेको छ । आयोजनाका प्रबन्धक तथा इप्पानका सचिव विजय एम भट्टराईका अनुसार आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन् । जसमध्ये आयोजनाका सुरक्षाकर्मी दुई र १३ कर्मचारी तथा बाँकी २६ कामदार सम्पर्कविहीन भएको अवस्था छ । “आयोजनाको सुरुङ लामो छैन, १५० मिटर मात्रै भित्र होला, सुरुङभित्र फसेकामध्ये दुई जना आफँै बाहिर आइसक्नुभएको छ भने बाँकी त्यहीभित्र हुनुहुन्छ सूचना छ, उहाँहरु उद्धारको पर्खाइमा हुनुहुन्छ”, सचिव भट्टराईले भन्नुभयो । रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि कोरियन विशेषज्ञको टोलीले हवाई रेकी गरेर काम सुरु भइसकेको जनाएको छ ।रासस