सम्पर्क

३८ बालबालिका संस्थाको संरक्षणमा,सेवक नेपालको १२औँ स्थापना दिवस

देबराज सुबेदी      काभ्रे । सेवक नेपाल, केन्द्रीय कार्यालय चाबहिल, काठमाडौंको १२औँ स्थापना दिवस काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ स्थित बालगृहमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। स्थापना दिवस कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा प्रमुख अतिथि तथा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। हाल सेवक नेपालको संरक्षणमा ३८ जना बालबालिका रहेका छन्। संस्थाका अध्यक्ष बुद्धकुमार गौतमका अनुसार देशका विभिन्न १४ जिल्लाका बालबालिकालाई संस्थाले संरक्षण, पालनपोषण तथा शिक्षादीक्षामा सहयोग गर्दै आएको छ। कार्यक्रममा समाजसेवी देवेन्द्र सापकोटा, मण्डनदेउपुर नगरपालिका–९ का वडाध्यक्ष सिताराम श्रेष्ठ, संस्थापक पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति मणिराम पौडेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य तथा पत्रकार ज्ञानमणि नेपाल कालोटोपीलगायत संस्थाका विभिन्न तहमा रहनुभएका सदस्य तथा पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख टोकबहादुर वाइबाले सेवक नेपालको संरक्षणमा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले नगरपालिकाले संस्थालाई ठूलो आर्थिक सहयोग गर्न नसके पनि आगामी दिनमा आफ्नो क्षमताअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहयोग आर्थिक रूपमा मात्रै नभई भौतिक, सामाजिक र नैतिक रूपमा समेत गर्न सकिने उल्लेख गर्दै नगर प्रमुख वाइबाले विगतमा संस्था सञ्चालनका क्रममा विभिन्न अवरोधहरू सिर्जना भएको र त्यसलाई नगरपालिकाले सहजीकरण गरेको स्मरण गर्नुभयो। उहाँले आफू नगरपालिकाको जिम्मेवारीमा नरहे पनि व्यक्तिगत रूपमा संस्थालाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, नगर उपप्रमुख विष्णुमणि नेपालले सेवक नेपालले गर्दै आएको मानवीय तथा सामाजिक कार्यको प्रशंसा गर्दै संस्थाको निरन्तरताको कामना गर्नुभयो। आश्रयविहीन तथा अभिभावकविहीन बालबालिकाका लागि संस्था अभिभावक बन्न सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले संस्थालाई सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष बुद्धकुमार गौतमले सेवक नेपालको स्थापनादेखि हालसम्मका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले संस्थालाई विभिन्न समयमा सहयोग गर्ने व्यक्ति, संस्था तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै ‘जसको कोही छैन, त्यसको लागि सेवक नेपाल छ’ भन्ने अभियानलाई सार्थक बनाउन संस्था निरन्तर क्रियाशील रहेको बताउनुभयो। अध्यक्ष गौतमका अनुसार सेवक नेपालले वि.सं. २०७० सालदेखि आफ्नो सामाजिक अभियानलाई अघि बढाउँदै आएको हो। बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा उनीहरूको समग्र भविष्य निर्माणमा संस्थाले आफ्नो क्षमता र स्रोतअनुसार काम गर्दै आएको उहाँले बताउनुभयो। उहाँले आगामी दिनमा पनि संरक्षणमा रहेका बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न आवश्यक कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सेवक नेपालको १२औँ स्थापना दिवसले संस्थाले हालसम्म गरेको सामाजिक योगदानको समीक्षा गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बाल संरक्षणका क्षेत्रमा काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।