मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य तीव्र पारिएको छ ।
सोमबार दिउँसो करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनामा चार जना बेपत्ता भएको प्रारम्भिक सूचना आए पनि प्रहरीले हालसम्म तीन जना मात्रै कारसहित नदीमा बेपत्ता भएको पुष्टि गरेको छ । बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी तथा कार चालक दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र सिन्धुलीको तीनपाटन गाउँपालिका–९ निवासी हेल्पर सुरज मगर रहेका छन् । फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार तीनै जना कारसहित नदीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बेपत्ता तीनै जना र कारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सुनकोशी नदीमा आएको बाढी र तीव्र बहावका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
बेपत्ता यात्रु तथा कारको खोजीका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका टोली घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन् । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सबै सुरक्षा निकायबीच समन्वय गरी खोजी कार्यलाई तीव्र बनाइएको र बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।
