स्थानीय कृषि तथा हस्तकला उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा ‘कोशेलीघर’ सञ्चालनमा आएको छ ।
शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको कोशेलीघरको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले गर्नुभएको हो । कोशेलीघर हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आइतमान तामाङले स्थानीय किसान, महिला उद्यमी तथा साना व्यवसायीले उत्पादन गरेका वस्तुका लागि सहज बजार उपलब्ध गराउने उद्देश्यले कोशेलीघर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यहाँ ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक परिकार, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्रीलगायत स्थानीय तथा रैथाने उत्पादनको प्रत्यक्ष बिक्री–वितरण गरिनेछ ।
नगरप्रमुख तामाङले आवश्यकताअनुसार मेलम्चीका विशेष परिकार तथा स्थानीय उत्पादनलाई जिल्ला बाहिरसमेत पठाउने व्यवस्था मिलाइने जानकारी दिनुभयो । साथै, कोशेलीघरले स्थानीय उत्पादक र उपभोक्तालाई एउटै छानामुनि जोड्ने, बिचौलियाको भूमिका घटाउँदै किसानलाई उचित मूल्य दिलाउने तथा उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ‘फार्मदेखि किचनसम्म’को अवधारणाअनुसार उत्पादक र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ तथा परिष्कृत उत्पादन बजारमा ल्याइने बताउनुभयो । उहाँले कोशेलीघरलाई स्थानीय उद्यमी, किसान तथा व्यवसायीबीच अनुभव आदानप्रदान, सहकार्य र व्यवसाय विस्तारको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
प्रारम्भिक अनुमानअनुसार दैनिक हजारौँ उपभोक्ताले कोशेलीघरबाट किनमेल गर्ने अपेक्षा नगरपालिकाले गरेको छ । मेलम्ची आसपासका सरकारी तथा निजी कार्यालयका कर्मचारी, घुम्न आउने पर्यटक, स्थानीय बासिन्दा तथा छिमेकी पालिकाका उपभोक्तालाई लक्षित गरी सञ्चालनमा आएको कोशेलीघरले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
