सम्पर्क

होमनाथ दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

नेपाली कांग्रेसले वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकले दाहालको निधनमा औपचारिक शोक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
२०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । उहाँले पार्टीका विभिन्न तहमा रहेर संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याउनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा जानकारी दिनुभयो।
केन्द्रीय समितिको निर्णयअनुसार यही पुस २६, २७ र २८ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन् ।
कार्यवाहक सभापति खड्काका अनुसार दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भने १३ औँ दिन ओखलढुङ्गामा शोक सभाको आयोजना गरिनेछ । प्रस्तुत प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेको छ ।
वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री दाहालको शनिबार बिहान निधन भएको हो ।