सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा कृषकहरूलाई सहज सहयोग पुर्याउने उद्देश्यसहित कृषक विवरण पुस्तिका र पासबुकको व्यवस्था गरिएको छ । हरेक कृषकको मनमा नगरको सहयोग वास्तविक कृषकलाई अनुदान मेहनती र इमान्दारीताको मुल्याङ्कन गर्नका लागी वडा कार्यालयबाट सबै खाले सहयोग गरिने वडा अध्यक्ष उद्धव नेपालले बताउँनु भएको छ ।
उहाँले वडा कार्यालयद्धारा आयोजना गरिएको शुभकामना आदन–प्रदान तथा बार्षिक कार्यक्रमको समिक्षा एवंम् कृषक विवरण पुस्तीका वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
उहाँका अनुसार, वडा कार्यालयले मेहनती र इमान्दार कृषकको मूल्याङ्कन गर्दै सबै खाले सहयोग गर्नेछ । अब कृषक विवरण पुस्तिकामा अनुदानको विवरण, मल, बिउ तथा कृषिजन्य उपकरणको विवरण स्पष्ट रूपमा उल्लेख गरिनेछ र सोही अनुसार वितरण गरिनेछ । कृषकहरूलाई पासबुक उपलब्ध गराइनेछ जसमा अनुदान प्राप्त विवरण, बिउ, मल आदिको प्रमाणिकरण व्यवस्था मिलाइनेछ ।
अध्यक्ष नेपालले बालमैत्री तथा जनमुखी शासनको अवधारणालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिने, सूचना–सञ्चार प्रभावकारी बनाइने, लक्षित वर्ग र युवालाई केन्द्रित कार्यक्रम सञ्चालन गरिने, साथै विपद् तथा अन्य समस्या सम्बन्धी जनचेतनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँले आ.व. २०८२/०८३ भित्र “एकघर–एक धारा” योजना अन्तर्गत डडुवा–डडुवा चिसापानी लिफ्ट खानेपानी सञ्चालनमा ल्याइने र डडुवा हाँडीखोला लिफ्ट खानेपानीलाई विशेष योजनामा कोड गरी नगरपालिका मार्फत कार्यान्वयन गरिने निर्णय भएको बताउनुभयो । साथै थानबारे डाँडालाई शुभजन्मत्सव पार्कको रूपमा विकास गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । वडा अध्यक्ष नेपालले बिजय दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना व्यक्त गर्दै १४ नं. वडालाई नमुना वडा बनाउने लक्ष्य राखिएको बताउनुभयो । कार्यक्रममा पूर्व वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ, प्रा. बद्रीप्रसाद नेपाल, ऋषीराम नेपाल, मनकुमार तामाङ, शम्भु बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम वडा कार्यालय सहयोगी जीवन भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुको सहभागीता रहेको थियो ।
