नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारी तथा नागरिक समाजको अपिल
by लोकप्रिय समाचार
काठमाडौँ, २४ भदौ : नेपाल पत्रकार महासङ्घका पूर्वदाधिकारी तथा नागरिक समाजले काठमाडौँ बानेश्वरसहित देशका विभिन्न स्थानमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा सरकारबाट गरिएको बर्बर दमनको विरोध गरेको छ । प्रदर्शनीमा १९ युवा मारिएकामा आफूहरू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ । उहाँहरूले जारी गर्नुभएको अपीलमा भनिएको छ, “पछिल्ला दशकमा मुलुकमा बढेको भ्रष्टाचार, कुशासन र बेथिति अन्त्य तथा सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फुकुवाको माग राखेर सडकमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवा विद्यार्थीमाथि संसद भवन अगाडि निर्मम र बर्बर ढङ्गले गरिएको गोली काण्डको हामी निन्दा गर्दछौँ ।” प्रदर्शनीका क्रममा मारिएका सम्पूर्ण प्रियजनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना सन्तानको बियोगमा रहनुभएका सम्पूर्ण अभिभावक, आफन्तजनमा हृदयदेखि समवेदना व्यक्त गर्नुभएको छ । उहाँले कदम तत्काल चालेर परिस्थितिलाई अझ विकराल र जोखिमपूर्ण हुन नदिन अपील समेत गर्नुभएको छ । घटनाको छानबिन गर्न सर्वाधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोगसहित आन्दोलनको मूल मुद्दा भ्रष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न ठोस निर्णय गर्न माग गर्नुभएको छ । मृतक परिवारलाई सत्य, न्याय, परिपूरण तथा घाइतेलाई निःशुल्क स्वास्थ्योपचारको सुनिश्चितताको व्यवस्था गर्न माग गर्दै अपीलमा भनिएकोछ, “प्रदर्शनमा घुसपैठ हुन नदिन, संयम अपनाउन र शान्तिपूर्ण आवाज बुलन्द पारिराख्न जेनजीका सबै युवा जनमा आह्वान गर्छाैं ।” उहाँले सोमवारको घटना संलग्न केन्द्रदेखि जिल्लासम्मका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी तथा असंवैधानिक आदेश कार्यान्वयनमा लैजाने सञ्चार मन्त्रालयका सचिवदेखि दूरसञ्चार प्राधिकरण र सरोकारवाला निकायका अधिकारीहरूलाई तत्काल निलम्बन गरी छानबिनको माग गर्नुभएको छ । उहाहरूले घाइते पत्रकारको उपचारका साथै निर्वाध रूपले समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरणको सुनिश्चितता माग समेत गर्नुभएको छ । यसरी अपील गर्नुहुनेमा महास्ङघका पूर्वअध्यक्षका तारानाथ दाहाल र गोविन्द आचार्य, उपसभापतिहरू रमेश विष्ट, खिलबहादुर भण्डारी, रिपोर्टस क्लबका ऋषि धमला र परिष्ठ पत्रकार राजन कुइँकेललगायत हुनुहुन्छ । रासस