
लोकप्रिय रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको उपाधि सिन्धुपाल्चोकको गंगा सोनामले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिएर उहाँले उपाधि हात पार्नुभएको हो । यस सिजनको फस्र्ट रनर–अप बबिता थापा मगर बन्नुभएको छ । त्यस्तै, दर्शना गान्धारी सेकेन्ड रनर–अप बन्दै चौथो र पाँचौं स्थानमा क्रमशः अभिनव खाती र मृनल मानन्धर पर्नुभएको छ ।
गायनमा आफ्नो दमदार आवाज र शैलीका कारण दर्शक र निर्णायकको मन जितेकी गंगा सोनामलाई सामाजिक सञ्जालमा समेत व्यापक बधाई र शुभकामनाको ओइरो परेको छ । शोको यात्रामा उहाँले विभिन्न चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पानुभएको थियो ।
नेपाल आइडलको यो सिजनलाई दर्शकले अत्यधिक रुचाएका थिए, जसमा देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूको पनि व्यापक सहभागिता र समर्थन देखिएको थियो ।
नेपाल आइडलको छैटौँ सिजनको अडिसनमा गंगा सोनामले देउडा गीत गाउनुभयो, ‘डोली चढाई लैजान्या हो सुवा..’। सिन्धुपाल्चोककी गंगाले देउडा गाउँछिन् भनेर आइडलका निर्णायकहरूले विश्वास गरिहाल्न सकेका थिएनन् । देउडा सुदूरपश्चिम प्रदेशमा प्रचलित भाका थियो ।
उमेरले गंगा २० वर्ष पुग्नुभयो । उहाँ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित पाटीगाउँमा जन्मिनुभएको हो । पिता ध्रुव सोनाम र माता सीता सोनामको कान्छी सन्तानका रूपमा उहाँको जन्म भयो । गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरिसक्नुभएको छ ।
बाल्यकादेखि नै उनी संगीतप्रति लगाव राख्ने गंगा गीत गुनगुनाउँनुहुन्थ्यो ।
विद्यालयमा सांगीतिक कार्यक्रममा पनि सहभागी हुन्थ्यो । आइडल प्रवेशअघि गंगाले ‘बेलबटम’ बोलको गीत गाईसक्नुभएको छ । यो उहाँको पहिलो गीत हो । अमृत भारतीको शब्द रहेको गीतमा रामकुमार नेपालीले संगीत भरेका छन्। गीतमा गंगासहित रामकुमार नेपाली, अमृत भारती र सञ्चिता नेपालीको स्वर छ। गीतका केही टुक्का टिकटक तथा फेसबुक रिल्समा पनि चर्चित छ।
