दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने आईतबार एक सूचना जारी गरेर जनाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) तथा देशभरका सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न सकिने छ । चाडपर्वमा पाँच, १०, २०, ५० र १०० दरका नोटको माग बढी हुने भएकाले केन्द्रीय बैंकले मेला र फाटेका नोट संकलन गरी नयाँ नोट वितरण गर्दै आएको हो । आर्थिक वर्ष २०६७/६८ मा ‘सफा नोट नीति’ लागू गरेपछि राष्ट्र बैंकले कारोबारमा सफा नोट मात्र प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
