सम्पर्क

“रमाइलो तिज तथा सचेतना” कार्यक्रमको तयारी पुरा, अतिथि कलाकार टीका र रेजिना कतारमा

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर तथा चाडबाडहरूमा कतारमा रहेका नेपाली दिदीबहिनीहरू लाई अभिभावकत्व प्रदान गर्दै आइरहेको नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” तयारी अन्तिम चरणमा पुगेको समाजले जानकारी दिएको छ ।
नेपाली महिला समाजले हरेक वर्ष आयोजना गर्दै आइरहेको रमाइलो तिज यस वर्ष पनि धुमघामका साथ कतारमा मनाउने तयारी भइरहेको कार्यक्रममा आफ्नो सागिंतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायिका टीका पुन र रेजिना परियार बुधवार राती कतार आइपुगेका छन् ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरूलाई भव्य स्वागत गर्नको लागी समाजकी अध्यक्ष माया केसी,कार्यक्रम संयोजक सन्ध्या अर्याल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठ, पत्रकार तिलु शर्मा पौडेल, सुजन धिताल लगायत अन्य व्यक्तित्वहरू विमानस्थलमा पुग्नुभएको थियो ।

कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थल बाट गायिकाद्वय टीका पुन र रेजिना परियारले कतार आइपुगेको जानकारी दिँदै शुक्रवार रमाइलो तिज कार्यक्रममा दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत दोहामा स्थापित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा अतिथि कलाकारको साथमा सचेतना सहित कतारमा स्थापित स्थानीय कलाकारहरूको गायन, एकल नृत्य तथा सामूहिक नृत्य प्रस्तुतिसँगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने कार्यक्रम संयोजक सन्धया अर्यालले जानकारी दिनुभयो ।

शुक्रवार मुन्ताजा स्थित होटेल होलिडे भिल्लाको म्याजेस्टिक सभा हलमा मध्यान्ह १२ बजेदेखि कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ । कार्यक्रममा कतारवासी सबैलाई उपस्थित भएर रमाइलो तिज कार्यक्रमको भरपूर्ण मनोरञ्जन लिन नेपाली महिला समाज कतारले अनुरोध समेत गरेको छ । कतारमा स्थापित ६ दर्जन भन्दा बढी सङ्घ संस्थाहरू सहयोगीको रूपमा रहेको कार्यक्रममा महिला दिदीबहिनीहरूलाई प्रवेश निःशुल्क रहेको छ भने पुरुषहरूको लागी न्यून शुल्क लाग्ने आयोजक सङ्घले जानकारी दिएको छ ।