कुमार बस्नेत (अधिराज)
सवारी दुर्घटना रोकथा म तथा न्यूनिकरणका लागि सिन्धुपाल्चोकमा सार्वजनिक सवारीसाधन चालकहरुको स्वास्थ्य र कागजात चेकजाँच अभियान सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले उक्त अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत अरनिको राजमार्ग र बनदेउ –चौतारा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक बस तथा यात्रुवाहक सवारीका चालकहरुको लाइसेन्स, पास र स्वास्थ्य,लागू पदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाका अनुसार, नियमित स्वास्थ्य परीक्षण, आवश्यक कागजातको प्रमाणीकरण र ट्राफिक नियमको पालना सम्बन्धी निगरानी मार्फत सडक दुर्घटना घटाउने उद्देश्य राखिएको छ । उहाँले भन्नु भयो दुर्घटनाको प्रमुख कारणमध्ये चालकको स्वास्थ्य अवस्था, लापरबाही र ट्राफिक नियमको अवज्ञा पर्छन्। यसलाई रोक्न यस्ता चेकजाँच निरन्तर गरिनेछ। चालकलाई जरिवान भन्दा पनि सुजाव जनचेतनामूलक कार्यको वढि आवश्यक रहेको प्रमुख थापाले बताउनु भयो ।
कार्यक्रममा सहभागी जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाप, दृष्टि परीक्षण, नशा सेवनको अवस्था लगायत स्वास्थ्य जाँचसमेत गरेका थिए । सबारी यात्री सावित्री खड्का भन्नू हुन्छ यस क्षेत्रमा वर्षेनी ठूला दुर्घटना हुने गर्छन् । प्रहरी र स्वास्थ्यकर्मीले यस्ता चेकजाँच गर्दा चालकहरु जिम्मेवार बन्छन् र यात्रु पनि सुरक्षित महसुस गर्छन् । त्यस्तै, लामो दूरीका बस चालक हरि तामाङले भने, हामी निरन्तर यात्रु बोकेर लामो दूरी चलाउँछौँ । यस्तो स्वास्थ्य परीक्षणले हामीलाई पनि आफ्नो स्वास्थ्यप्रति सचेत गराउँछ, साथै ट्राफिक नियम पालना गर्न थप प्रेरणा दिन्छ ।
सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षति कम गर्न चालकलाई सचेत बनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र अनुगमन कडाइ गर्ने योजना अनुसार अभियानलाई अघि बढाइएको जनाइएको छ । आगामी दिनमा अन्य राजमार्ग तथा ग्रामीण सडकखण्डमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले जनाएको छ ।
