चण्डीका नेपाली
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा समय विस्तार गरेको छ ।
प्रशासनले यही साउन २७ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरूले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ः०० बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो । परिचयपत्र सेवाका लागि एकैपटक ठुलो सङ्ख्यामा सेवाग्राहीहरू कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढङ्गबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण हुन योग्य सेवाग्राहीका लागि यसबाट सहयोग पुग्नेछ । सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र अशक्त सेवाग्राहीको समेत चाप रहेको प्रशासनले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता , राहदानी , बैंक खाता सञ्चालनलगायत सेवामा राष्ट्रीय परिचयपत्र अनिवार्य गरेपछी कही दिनदेखी जिल्ला प्रशासन कार्यालयमाभीड बढेको छ । सामाजिक सुरक्षा नियमावली ,२०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधी २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखी भदौ मसान्तभित्र नविकरण गराईसक्नुपर्ने कानुनी प्रावधान छ ।
