सम्पर्क

इन्द्रावती–८ ज्यामिरेमानेमा गोले वंशको पहिचानको प्रतीक शालिक अनावरण

 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर गोले बोन्पो (गोले झाँक्री) को पूर्णकद शालिक अनावरण गरिएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि यस्ता संरचनाहरूको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक महत्त्व बोकेका थुप्रै स्थलहरू रहेको उल्लेख गर्दै, धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गाउँपालिकाको दायित्व भएको धारणा व्यक्त गनुभयो । उहाँले नवनिर्मित शालिकले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय समुदायको पनि समान जिम्मेवारी हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गोली तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले गोले बोन्पो (गोले झाँक्री) को गौरवशाली शालिक उद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित महसुस भएको धारणा राख्नुभयो । गोले वंशको पहिचान र इतिहासको बारेमा बताउँदै अब हरेक वर्ष यही दिन यही स्थानको अवलोकनका लागि संसारभरिका गोलेहरू आउनेगरी संरचनाहरू तयार पार्न जरुरी रहेको बताउनुभयो । साथै गोले झाँक्रीको शालिक रहेको स्थानमा अन्य संरचनाहरू बनाउन बाँकी नै रहेकाले शालिकको वरिपरी रेलिङ र छत लगाउनका लागि गोले तामाङ वंश उत्थान समाज ले १ लाख ४४ हजार रूपैयाँ बराबरको रकम सहयोग समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्व गाउँपालिका अध्यक्ष वंशलालले इन्द्रावती क्षेत्रको ऐतिहासिक महत्व पुनर्जीवित गर्न सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको बताउनुभयो । पुर्खाहरूका अनुसार यो भेगलाई सात सय सिपा नौ सय ह्योल्मो रुपमा परिचित रहेको र पछि क्रुर शासकहरुले ती धार्मिक र सांस्कृतिक धरोहर नष्ट पारिएको बताउँदै ती इतिहासलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । अहिलेको समाज विकासको क्रममा अनुहार र पेशा हेरेर जाति छुट्याउन नसक्ने बताउँदै यस्तै ऐतिहासिक धरोहरहरू नै हाम्रो चिनारी भएको धारणा राख्नुभयो । मानव शरीर मरेर गए पनि यस्ता धरोहरहरू जीवित रहने उहाँको भनाइ थियो। त्यसैले यस्ता संरचना निर्माण गर्न र निर्माण पछि संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो। साथै यस स्थानमा निर्माण भएको गोले झाँक्रीको शालिक अनावरणको अवसरमा आफूलाई निमन्त्रण गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्दै सबैमा जनै पूर्णिमा, रक्षाबन्धन तथा गोने ङ्ह्याको शुभकामना समेत व्यक्त गर्नुभयो । गोले तामाङ वंश उत्थान समाजका उपाध्यक्ष हर्क गोलेले यस स्थानलाई संसारभरका गोलेहरू आएर गोले झाँक्रीको शालिकलाई दर्शन गर्न आउने गरी प्रचारप्रसार तथा संरचनाहरू बनाउन आवश्यक रहेको बताउनुभयो । अन्य वक्ताहरूले यस स्थानलाई तामाङ समुदाय तथा विश्वभरका गोलेहरूको तीर्थस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं. ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले संरचना स्थानीय सल्लाहअनुसार बनेको र यसले तामाङ समुदायलाई एकताबद्ध गर्न योगदान गरेको बताउनुभयो । वडा नं. ७ का अध्यक्ष रविन्द्रकुमार खातीले धर्मनिरपेक्ष नेपालको सन्दर्भमा सबै धर्म र संस्कृतिलाई समान अवसर प्रदान गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो । कार्यक्रमको समापन गर्दै आयोजक ज्यामिरेमाने सिमबारी खर्क टोल विकास संस्थाका अध्यक्ष दयाराम तामाङले अझै केही संरचना निर्माण बाँकी रहेको भन्दै स्थानीय सरकार र सरोकारवालासँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।