दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
उज्यालो नेपालका प्रतीक नेपाल बिधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विदेशमा काम गरेर मुलुकको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई अपमानित गर्ने प्रवृत्तिले देश बन्न नसक्ने बताउनु भएको छ । मध्य पूर्वका देशहरुको भ्रमणमा निस्किएका कुलमान बहराइन युएई र ओमन को भ्रमण सकेर शुक्रवार कतार आइपुगेका घिसिङले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित “उज्यालो संवाद कार्यक्रम २०२५” लाई सम्बोधन गर्दै आफ्नो देश छोडेर विदेशमा श्रम गरी मुलुकमा रेमिटेन्स पठाएर देशको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई सरकारले सम्मान गर्नुको साटो विमानस्थल बाटै अपमानित गरेको बताउनु भएको हो ।
श्रम गरेर राष्ट्रलाई योगदान पुर्याउने हरेक नेपालीको सम्मान हुनुको साटो तुच्छ व्यवहार, र अपमानित हुनु अत्यन्तै दुखद पक्ष हो । यसको आवाज देश देखि विदेश सम्मका नेपालीहरूले उठाउन पर्ने समय आएको बताउनु भयो । आफू मध्य पूर्वका देशहरूको भ्रमणमा निस्कनुको मुख्य उद्देश्यको बारेमा प्रस्ट पार्दै आफूले कुनै पनि पाटीको घोषणा, कुनै उम्मेदवारी घोषणा गर्ने कुनै योजना न भएर नितान्त विदेशमा रहेका नेपालीहरूको सङ्कल्प गर्न भ्रमणको यात्रा गरेको बताउनु भयो ।
आफूले गल्फ कन्ट्रीका नेपालीहरूको बारेमा धेरै नकारात्मक पक्ष सुन्दै आएता पनि यथार्थमा अत्यन्तै फरक र पृथक पाएको बताउनु भयो । विदेशमा रहेका धेरै नेपालीहरू पाटीको नाममा विभाजित भएको आफुलाई जानकारी रहेको बताउदै आगामी दिनमा कुनै पनि पाटीको नामबाट न भई हामी नेपाली एक हौ देश निर्माणको लागी उज्यालो अभियानमा सबै नेपाली एकै ठाउँमा उभिन आग्रह समेत गर्नु भयो ।
करिब एक घण्टा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिधुत प्राधिकरणको कार्यकारीमा रहेर बर्षौ देखि घाटामा रहेको संस्था आफूले अथक प्रयास गरेर एउटा आशा जगाउने काम गरिरहेको समयमा सरकारले सम्मानको साटो बर्खास्त गरेको र आफ्नो कार्यकाल सकिन ४ महिना अगावै सरकारले जुन दिन सरकारले बर्खास्त ग¥यो उक्त दिन चेपाङ बस्तीमा बत्ती जडान गर्दै थिए उहाले भन्नू भयो । देश भरी बत्ती बाल्नु पर्छ हरेक नेपालीले बत्ती बाल्न पाउनु पर्छ भन्ने अभियान थियो तर त्यो सपना अपुरो रहेको बताउनु भयो ।
आफूलाई सरकारले बर्खास्त गर्दा सडक देखि सदन सम्म,देश देखि विदेश सम्म र सामाजिक सञ्जालमा समेत आफ्नो समर्थनमा आवाज उठाउने हरेक नेपालीहरू प्रति ऋणी रहेको र नेपालीहरूको माया नै आफ्नो प्रेरणाको स्रोत रहेको बताउदै आफूलाई भविष्यमा थप आत्मबल र ऊर्जा थपिएको समेत बताउनु भयो । विगत तीस वर्षको आफ्ना अनुभव सुनाउँदै देशलाई सक्षम लिडरसिपको आवश्यकता छ । हामी सबै नेपालीले राज्यलाई हेर्ने हो,देशलाई हेर्ने हो ।अब देश बनाउने जिम्मा हरेक नेपालीको काँधमा आएको छ नेपाल सम्भावना नै सम्भावना भएको देशमा युवा शक्ति नेपालमा छैन विदेशमा छन् । अझै कति वर्ष हामी नेपाली निराशापनमा बाच्नु पर्ने हो भन्ने प्रश्न समेत गर्नु भएको थियो ।
एनआरएनए एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभा अध्यक्षता तथा घिसिङकै प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठको रहेको थियो । कार्यक्रमको सहजीकरण महासघंका महासचिव हरि महतोले गर्नु भएको थियो । सभापति भट्टले कार्यक्रमलाई समापन गर्दै कतारमा रहेका नेपालीहरूको आशा भरोसाको केन्द्र बनेको गैर आवासीय नेपाली सङ्घलाई केही भ्रष्टहरूले विदेशीको झोला बोकेर संस्थालाई प्रहार गर्ने प्रयास भइरहेको बताउँदै नेपाली सङ्घलाई विदेशीहरूको गुलामी बन्न नदिन कतारमा रहेका चार लाख नेपालीहरूलाई ऐक्यबद्धता भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
