सम्पर्क

चेपाङ समुदायलाई सहयोग पु¥याउने सहयोगी दाताहरुलाई सम्मान

दर्शन सुनार /लोकप्रिय दैनिक
धादिङ सेवा समाज कतारले चेपाङ समुदायलाई सहयोग पु¥याउने सहयोगी दाताहरूलाई सम्मान गरेको छ । शुक्रवार ग्राण्ड मलमा अवस्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा आयुष घलेको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार सोमनाथ कँडेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै “भेटघाट तथा सम्मान” कार्यक्रम सम्पन्न गरेको हो ।

समाजले जिल्लाका चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको पावन अवसर पारेर आयोजना गरेको नेपाली नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्न विभिन्न कोणबाट आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग पु¥याएका कतारमा स्थापित विभिन्न सङ्घ संस्था,सहयोगीदाताहरू,कलाकार तथा पत्रकारहरूलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एक दर्जन भन्दा बढी कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

प्रमुख अतिथि कँडेलले आफ्नो मन्तव्य बोल्दै समाजलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने बताउनु भयो । उहाँले आगामी दिनमा समेत सबैको साथ र सहयोगको अपेक्षा गर्दै जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।

सभापति घलेले कार्यक्रमलाई सम्बोधन गर्दै गृह जिल्लाका चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दै हलमा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्नु भयो। दित्तिय उपाध्यक्ष उषा रिमालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका महासचिव रामहरि श्रेष्ठले गर्नु भएको थियो ।
“धादिङ सेवा समाज कतारको मूल मर्म, समाजसेवा नै हो मानवीय प्रमुख धर्म“ भन्ने मूल नाराका साथ सन २००१ मा स्थापित संस्था कतार तथा गृह जिल्ला धादिङमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।