सम्पर्क

त्रिपुरासुन्दरीमा गर्‍यो जिल्ला प्रशासनले सार्वजनिक सुनुवाई कार्यक्रम

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोग एवंमु समन्वयमा शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको सभाहलमा सेवा प्रवाह, शान्ति सुरक्षा, अपराध नियन्त्रण सम्बन्धि सचेतना तथा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी किरण थापाको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधी सुरक्षाकर्मीका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगाएत कर्मचारी शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता भएको कार्यक्रमको उद्देश्यबारे प्रकास पार्र्दै जिल्ला प्रशासन कार्यालयका रबिराज धितालले नागरिकहरूका गुनासो, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुनी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको बताउँनु भयो ।
सेवा प्रवाह तथा नागरिक गुनासो संकलन गर्ने उद्देश्यले शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष भत्तध्वज बोहोराले सुरक्षाकर्मीहरु जनताको हुन पर्ने बताउँदै जनताको कुरा सुन्ने जनताको काममा ध्यान दिने गर्न पर्ने बताउँनु भयो ।
गाउँपालिका उपाध्यक्ष गिता कुमारी नेपालले जिल्ला प्रशासन कार्यालयले यसरी पालिकामा आएर स्थानीय समस्या बुझ्नका साथै आफुद्धारा प्रत्यक्ष सेवाहरुको बारेमा जानकारी दिएकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमका सभापत्वि गरिरहनु भएका प्रमुख जिल्ला अधिकारी किरण थापाले कार्यक्रमको आयोजना गर्नुको उद्देश्य दुर्गम क्षेत्रमा पुगेर नागरिकका गुनासो सुन्ने तथा सेवा प्रवाहका सम्बन्धमा सुझाव संकलन गर्नु रहेको बताउँनु भयो ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै प्रजिअ थापाले शान्ति सुरक्षा, विकासमा सहजीकरण, सेवा प्रवाहमा प्रभावकारिता, घरदैलोमा सेवाको पहुँच पुर्याउने, सुशासन प्रवद्र्धन, विपद व्यवस्थापन जस्ता कार्यलाई प्राथमिकता दिई आफुले कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले प्रशासनले उपलब्ध गराउँदै आएको सेवा, प्रगति, समस्या र चुनौतीका विषयमा सरोकारवालासँग छलफल हुँदा आपसी समन्वय र सहकार्यमा सहजता आउने विश्वास व्यक्त गर्नु हुँदै कानुन बमोजिम हुने कामका लागी कुनै पनि ढिला सुस्ती नहुने बताउनु भयो ।

सो अबसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब खरेलले जिल्लामा प्रहरीद्धारा गरेको कामहरका बारेमा जानकारी दिदै प्रहरी हरेक नागरिकको मनमा बस्नका लागी काम गरिरहेको बताउनु भयो । कार्यक्रममा सेवा प्रवाह, उपलब्धि, समस्या र सम्भाव्य समाधानका विषयमा जानकारी गराउनुभएको थियो ।
शान्ति सुरक्षाका विविध पक्षमाथि प्रकाश पार्दै जिल्लामा वालविवाह, बहुविवाह, आत्माहत्या जस्ता सामाजिक अपराधमा वृद्धि भएकोले स्थानीय वासी यस विषयमा सचेत भई नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वडाअध्यक्षहरूले नागरिकता बनाउन सदरमुकामसम्म जानुपर्ने बाध्यता हटाउन वडाको सिफारिसलाई प्राथमिकता दिन आग्रह गर्दै वडाको सिफारिसलाई उपेक्षा गर्दा स्थानीयले अनावश्यक झन्झट भोग्नुपरेकोे गुनासो राख्नु भएको थियो । स्थानीय बासिन्दाको सुरक्षाका लागि गाउँघरमा नियमित गस्ती बढाउन प्रहरी प्रशासनलाई आग्रह गरिएको थियो । लोकप्रिय समाचार राष्ट्रिय दैनिकका प्रकाशक नेत्र बहादुर बस्नेतले गर्नु भएको सार्बजनीक सुनुवाई कार्यक्रमको लोकप्रिय नेत्रज्योतीको सामाजिक सञ्जाल र रेडीयो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्रबिसेबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।