सम्पर्क

नेपाल मगर संघ शाखा कतारको १६औं महाधिवेशन सम्पन्न, अध्यक्षमा थापा मगर सर्वसम्मत

दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाडौँबाट शाखा कतारको रूपमा मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारको (केन्द्रीय समिति) को १६औँ महाधिवेशन तथा २५औं वार्षिकोत्सव कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न भएको छ ।
मगर संघका अध्यक्ष रेसम आले मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागी तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं. ७ निवासी समीर थापा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा देवी कुमारी मगर, द्वितीय उपाध्यक्षमा रविना मगर, महासचिवमा पाण्डव थापा मगर, उप–महासचिवमा दीपक एक्चाई मगर, सचिवमा मन प्रसाद राना मगर, सङ्गठन सचिवमा दुर्गा दर्लामी मगर कोषाध्यक्षमा ओम थापा मगर, सह–कोषाध्यक्षमा तुषार पुन मगर, महिला संयोजकमा सीता राना मगर र सांस्कृतिक संयोजकमा दान आले मगर रहनु भएको छ । त्यस्तै भाषा तथा लिपि संयोजकमा दिल रोका मगर चयन हुनु भएको छ । कार्यसमिति सदस्यहरूमा चेत बलम्पाकी मगर, दिल माया राना मगर, नारायण खपाङ्गी मगर, सन्दीप दर्लामी मगर, हुम् बहादुर थापा मगर, मान बहादुर घर्ती मगर, राज आले मगर, सन्तोष राना मगर, विनीता थापा मगर चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक विवेक पुलामी मगरले नव निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा केक काट्दै प्रथम सहिद लखन थापा मगरको तस्बिरमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । मगरहरूको संस्कार अनुसार सभापति, प्रमुख अतिथि, एमसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, सांस्कृतिक वाङ राजा लगायत संघका विशिष्ट ब्यक्तित्वहरुलाई फेटाद्वारा सम्मान गरिएको थियो ।

संघको प्रथम उपाध्यक्ष देवी कुमारी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा १६औँ महाधिवेशनको बारेमा उपाध्यक्ष कुमार राहादी मगरले प्रस्ट पार्नु भएको थियो । कलाकार दान आले मगर, मोहन थापा मगर, कल्पना मगर, जमुना तामाङले स्वागत नृत्य पेस गर्नुभएको थियो । कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दुई दर्जन भन्दा बढी वक्ताहरूको शुभकामना मन्तव्य रहेको थियो । नेपाल मगर संघको मातहतमा रहेको सांस्कृतिक विभागमा आबद्ध रहेका कलाकारहरूको उत्कृष्ट गायन तथा नृत्य समेत रहेको थियो ।

समाजले आयोजना गरेका हरेक कार्यक्रममा आफ्नो गायन तथा नृत्य मार्फत सहयोग पुर्‍याउँदै आएका संघको मातहतमा रहेका कलाकारहरू, हरेक कार्यविधि तथा परियोजनालाई विभिन्न कोणबाट सहयोग पुर्‍याउँदै आएका आदिवासी जनजाति महासङ्घमा आबद्ध रहेका विभिन्न मातृ संस्था लगायत अन्य सहयोगी संस्थाहरू, हरेक कार्यबिधीलाई सञ्चार मार्फत सहयोग पु¥याउँदै आएका पत्रकार तथा विशिष्ट ब्यक्तित्वहरुलाई मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि कृष्ण कुमार सुवेदीलाई स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो । सम्मान पश्चात् आफ्नो मन्तव्य बोल्दै सुवेदीले नेपाल मगर संघले प्रवासमा पनि नेपालको संस्कृतिमा मगर समुदायले गरिरहेको लामो समयको योगदान प्रवासमा पनि हाम्रो देशको गौरव हाम्रो धर्म संस्कृति, भेषभुषा, भाषा साहित्य परम्परा तथा रीतिरिवाज र पहिचानलाई जगेर्ना गर्दै आइरहेको बताउनु भयो । सुवेदीले राष्ट्रको संस्कार र संस्कृतिको निमित्त नेपाली राजदूतावास सदैव साथमा रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

खुल्ला सत्रको समापन गर्दै सभापति आले मगरले प्रथम सहिद लखन थापा मगर, नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम पुन मगर र पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरलाई सम्झिँदै संस्थापक अध्यक्षदेखि निवर्तमान अध्यक्ष तथा कार्यसमितिले गरेको योगदानलाई सम्मान गर्दै संस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । मगरले आफ्नो कार्यकाल भव्य रूपमा सफल बनाउन साथ र सहयोग पु¥याउने सम्पूर्णलाई एक मुष्ठमा हार्दिक आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण महासचिव समीर थापा मगरले गर्नु भएको थियो ।