समुदाय स्तरमा उच्च रक्तचाप नियन्त्रणसम्बन्धी पहिलो परीक्षण कार्यक्रमको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख, प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यस अघि समुदाय स्तरमै पुगेर गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको बैठकमा पाँचपोखरी थाङपाल गाउँपालिकाक्क उपाध्यक्ष सुनिता अधिकारी, मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङ, अनुसन्धानकर्ता डाक्टर अर्चना श्रेष्ठ र अनुसन्धान विज्ञ डाक्टर दीपक चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा अनुसन्धान बिज्ञ चौलागाईंले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभयो । गाउँ गाउँमा समान्य आम जनतामाझ उच्च रक्तचाप सम्बन्धी सचेतना फैलाउनु र स्वास्थ्यसम्बन्धी जानकारी पु¥याउनु यसको उदेश्य रहेको उहाँले बताउनुभयो । छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले उच्च रक्तचाप रोगको मामिलामा प्रारम्भिक खोज र उपचार अनिवार्य रहेको बताउनुभयो । यस्तो कार्यक्रमले स्वास्थ्य संरचना बलियो बनाउन मद्दत पुर्याउने बताउनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष अधिकारीले ग्रामीण तहबाट नै यस्ता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दा जनचेतना बढ्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले दीर्घकालीन रुपमा फाइदा पुग्ने भन्दै सर्वसाधारणहरु लाभान्वित हुने बताउनुभयो ।
सिन्धुपाल्चोकमा यो परीक्षण गरिनुनै ठूलो उपलब्धिको रुपमा लिइएको सरोकार वालाहरुले बताएका छन् ।
उच्च रक्तचाप नियन्त्रणसम्बन्धी यस किसिमको कार्यक्रम ग्रामीण भेगमा स्वास्थ्य सेवा विस्तार र प्रत्येक व्यक्तिमा स्वास्थ्य–सचेतना बढाउन उत्तम माध्यम बन्ने डाक्टर श्रेष्ठले बताउनुभयो । समीक्षा बैठकले आगामी दिनमा नियमित स्वास्थ्य जाँच, स्वास्थ्य शिक्षा कार्यक्रम र दीर्घकालीन निगरानी समावेश गर्नुपर्ने सुझाव दिएको छ । सरोकार वाला र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सम्पन्न समीक्षा कार्यक्रममा सहभागीले ग्रामीण स्वास्थ्य संवर्धनका लागि यस्तो कार्यक्रम फलदायी हुनेमा जोड दिनुभयो ।
