सम्पर्क

बाह्रबिसे नगरपालिका वडा नं. ३ ठुलीपलातीमा गर्भवती र सुत्केरी आमालाई पोषण भत्ता वितरण

बाह्रबिसे नगरपालिका वडा नं. ३ स्थित ठुलीपलातीका गर्भवती र सुत्केरी आमाहरुलाई पोषण भत्ता उपलब्ध गराउनका लागि सुनौलो बिहानि स्वस्थ आमा समूहले पहल गरेको छ । यस पहलअन्तर्गत, बाह्रबिसे स्वास्थ्य चौकी र महिला आत्मनिर्भरता केन्द्र (फेयरमेड) को सहकार्यमा पोषण सामग्री वितरण गरिएको हो ।

स्वस्थ आमा समूहका अध्यक्ष रन्जिता खड्का, सचिव रामकाजी खड्का र म.स्वा.स्व.से. सानू थापाको सक्रियतामा गर्भवती र सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । यस अवसरमा, डेङ्गु रोग र पोषण स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र स्थानीय स्वास्थ्यकर्मीहरुले डेङ्गु रोगको लक्षण, बचावका उपाय र पोषण स्वास्थ्यका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

स्थानीय तहको यस पहलले गर्भवती र सुत्केरी आमाहरुलाई स्वास्थ्य सेवामा आकर्षित गर्न र पोषण स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास गरिएको छ ।