सम्पर्क

बालमैत्री समाजतर्फको कदमः मेलम्ची नगरपालिका सडक बालबालिकामुक्त घोषणा

मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिकाको पुनःस्थापनामा उल्लेखनीय सफलता हासिल गर्दै, आफ्नो क्षेत्रलाई सडक बालबालिका मुक्त स्थानीय तहको रूपमा घोषणा गरेको छ ।
यो उपलब्धि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको निर्देशनअनुसार बैशाख ५ गते प्राप्त पत्रको आधारमा नगरपालिकाले बैशाख १० गते सबै वडाहरूमा पत्राचार गरी सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्थापन गरेपछि सम्भव भएको हो । वडास्तरीय छलफलहरू मार्फत नगरपालिकाले आफ्नो क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको निष्कर्ष निकालेको छ । यस निष्कर्षलाई नगर कार्यपालिकाको बैठकले पनि पुष्टि गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सडक आश्रित बालबालिका मुक्त स्थानीय तह भएको घोषणा गरेको उल्लेख छ ।
यो घोषणा राष्ट्रिय स्तरमा सञ्चालन भइरहेको सडक बालबालिका मुक्त अभियानसँग मेल खान्छ, जसमा सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने लक्ष्य राखेको छ । मेलम्ची नगरपालिकाको यो कदमले स्थानीय तहमा बालबालिकाको संरक्षण र पुनःस्थापनाको क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । यसले अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषदले २०८२ सालको असारभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय २०८१ साल असार ३१ गते गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न परिषद्ले सबै निकायलाई परिपत्र
गरिसकेको छ ।