चौतारा साँगाचोकगढी नगरपालिकाले निम्न वर्गीय परिवारहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।
यस योजनाले जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता तथा घाइतेका परिवारहरूलाई प्राथमिकतामा राखेको छ । दोस्रो प्राथमिकतामा दीर्घरोगी, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविका छन्। तेस्रो प्राथमिकतामा दलित, सीमान्तकृत समुदाय, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्रका खेलाडीहरू समावेश छन् । १६औँ नगरसभाबाट पारित नीति अनुसार, नगरपालिकाले प्रत्येक लाभग्राहीको तर्फबाट वार्षिक ३,५०० रुपैयाँ प्रिमियम तिरेको छ । यस योजनाअन्तर्गत, लाभग्राहीहरूले देशभरका अस्पतालहरूबाट वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् । यो पहलले स्वास्थ्य सेवामा पहुँच नपाएका वर्गहरूलाई लक्षित गर्दै संविधानमा उल्लेखित “स्वास्थ्य सबैको अधिकार हो“ भन्ने मर्मलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार, यो योजना सामाजिक न्याय र समावेशी विकासप्रति नगरपालिकाको प्रतिबद्धताको उदाहरण हो ।
