कविता श्रेष्ठ
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोकको आयोजनामा र बलेफी गाउँपालिकाको समन्वयमा विद्युतीय शासन प्रणाली तथा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सूचना र प्रविधिको अभियान, डिजिटल नेपाल निर्माण“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
क्यान सिन्धुपाल्चोकका महासचिव तथा अनुसन्धानकर्ता सुवास कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय शासन प्रणाली र साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिनुभयो । उहाँले सामाजिक सञ्जाल, विशेषतः फेसबुक ह्याकिङबाट बच्ने उपायहरू, पासवर्ड सुरक्षाको महत्व, र सरकारी तथा व्यक्तिगत इमेल सुरक्षामा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभयो । साथै, सरकारी कार्यालयहरूमा आर्थिक कारोबारसम्बन्धी कुराकानी फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत नगर्नु, फेसबुक पेजहरू सावधानीपूर्वक सञ्चालन गर्न र लिंकहरू क्लिक गर्दा सतर्क रहनु पर्नेमा जोड दिनुभयो ।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले साइबर सुरक्षा सम्बन्धी ज्ञानको विशेष महत्व रहेको बताउँदै, कर्मचारीहरूलाई प्राप्त ज्ञान व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । साथै, सामाजिक सञ्जालहरूको प्रयोगमा सचेत रहन पनि अनुरोध गर्नुभयो । क्यान सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाले साइबर सुरक्षा र विद्युतीय प्रणालीसम्बन्धी जानकारी बुद्धिजीवी वर्ग, कर्मचारी, र आम नागरिकमा फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । क्यान सिन्धुपाल्चोकका संस्थापक प्रभात श्रेष्ठले सामाजिक सञ्जालको प्रयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “फेसबुक हामीले चलाएको होइन, फेसबुकले हामीलाई चलाइरहेको छ ।”
बलेफी गाउँपालिकाको प्रशासन, योजना तथा अनुसन्धान शाखाका अधिकृत सन्देश सापकोटाले सामाजिक सञ्जालको सही सदुपयोगले महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउँदै, डाटा, सूचना, र सफ्टवेयरहरू सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको प्रयोगले समृद्ध, सुरक्षित, र पारदर्शी समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमले बलेफी गाउँपालिकामा विद्युतीय शासन प्रणाली र साइबर सुरक्षाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न मद्दत पु¥याएको छ । स्थानीय सरकार, सूचना प्रविधि विशेषज्ञ, र समुदायबीचको सहकार्यले डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
