नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका एक साताको लागि बन्द भएको छ । बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत पर्ने कोप्लाङ क्षेत्रमा हालैको वर्षाले सडक भासिएपछि मर्मतका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म मार्ग बन्द गरिएको हो ।
सडकको अवस्था दिनदिनै बिग्रँदै गएको भन्दै सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार, र ट्रान्सपोर्ट व्यवसायीहरूको संयुक्त निर्णयपछि सडक पूर्ण रूपमा अवरुद्ध गरेर दीर्घकालीन मर्मत सुरु गरिएको हो । अस्थायी रूपमा माटो हालेर सडक खुलाउने प्रयास असफल भएपछि अब भोटेकोशी नदीको तलबाट प्लम्ब ढलान बनाएर सडक पुनर्निर्माण गरिँदैछ । शिव खिम्ती र टीपीएस जेभी निर्माण कम्पनीले यो कठिन काम सम्हालेका छन् ।
सडक बन्द भएपछि तातोपानी नाकाबाट काठमाडौंतर्फ ल्याइँदै गरेका सामग्रीहरू र सवारीसाधन बीचैमा रोकिएका छन् । भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार स्याउ, लसुन बोकेका ४० भन्दा बढी मालवाहक कन्टेनर, पाँच सयभन्दा बढी विद्युतीय गाडी भन्सार यार्डमै रोकिएका छन् । एक सयभन्दा बढी कन्टेनर खासामा नै रोकिएका छन् । वैकल्पिक मार्गको अभाव र सडक माथिल्लो भाग पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले सवारीसाधन सञ्चालन असम्भव भएको जनाइएको छ । यदि अहिले नै सडक प्रयोग गरियो भने जनधनको ठूलो जोखिम हुने भन्दै सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुरज महर्जनले सुरक्षालाई प्राथमिकता दिइएको बताउनुभयो । सडक मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ, एक सातामै कार्य सम्पन्न हुने सम्भावना न्यून रहेको अधिकारीहरू बताउँछन् । यदि समयमै सडक नखुले, भने भन्सार यार्डमा थन्किएका सामग्री बिग्रिने, आर्थिक नोक्सानी हुने र व्यापारमा झनै गम्भीर असर पर्ने निश्चितजस्तै देखिएको छ । २०७२ भूकम्पले तहसनहस पारेको कोदारी सडक खण्ड स्थायी रूपमा कमजोर रहँदै आएको र मितेरी पुलदेखि खोर्सानीबारीसम्मका भागहरू अत्यन्तै जीर्ण अवस्थामा रहेको छ ।
