राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ को अवसरमा कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोक शाखाले साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रममा साइबर सुरक्षाबारे विस्तृत छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रविधिको पहुँच बढ्दै गएको सन्दर्भमा यसको सुरक्षित प्रयोग गर्न नसकेको अवस्था गम्भीर चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभयो । मोबाइलजस्ता प्रविधि साधनमार्फत दैनिक जीवनका अधिकांश कामहरू सहज रूपमा गर्न सकिने भएपनि प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डलाई बेवास्ता गर्ने प्रवृत्तिले साइबर अपराधमा वृद्धि भईरहेको उहाँले बताउनुभयो । साइबर अपराधका विविध पक्षलाई उजागर गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामाले नागरिकहरूलाई प्रविधिको सही र सुरक्षित उपयोगबारे सचेत रहन आग्रह गर्नुभयो । उहाँले प्रविधि भनेको सहजता मात्रै नभएर जिम्मेवारी पनि हो भन्ने कुरा जनसमक्ष पु¥याउनुपर्ने आवश्यकता रहेको औंल्याउनु्भयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सिन्धुपाल्चोकका महासचिव हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका कोषध्यक्ष दिपक खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्यान सिन्धुपाल्चोकका सचिव सुन्दर शिरीषले सरकारद्वारा २०७४ सालदेखि सूचना तथा सञ्चार प्रविधि दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा साइबर सेक्युरिटी अनुसन्धानकर्ता तथा क्यान सिन्धुपाल्चोकका सहसचिव सुवास कुँवरले साईबर सेक्युरिटीको विभिन्न पाटोभित्र रही प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले साइबर सुरक्षा सम्बन्धी विविध पाटाहरूको प्राविधिक पक्षमा आधारित प्रस्तुति दिँदै सहभागीहरूलाई सचेत बनाउने प्रयत्न गर्नुभयो । कार्यक्रम क्यान सिन्धुपाल्चोकका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, बुद्धिजीवी तथा प्रविधिमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
