सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गर्नुभयो । उहाँले मंगलबार एक सूचना जारी गर्दै होली पर्व मनाउने क्रममा कोही कसैको इच्छा विपरीत जबर्जस्ती रंग, लोला तथा पानी लगायत दुषित पदार्थ छ्याप्ने, मादक एवं नशालु पदार्थ सेवन गरी होली खेल्ने तथा चर्को आवाजमा डि.जे. जस्ता उपकरणहरु बजाई हो–हल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने तथा साम्प्रदायिक एवं धार्मिक सद्भावमा असर पुर्याउने खालका कार्यहरु नगर्न/नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गर्नुभएको छ । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।