सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा रहेको ला – नारूबोन बोन्पो–छाम, नाच तथा वार्षिक उत्सव समारोह साथै विधागत सम्मान एवं दोस्रो नगर भेला सम्पन्न भएको छ । बिहिबार नेपाल तामाङ घेदुङको आयोजना प्रतिमा/शालिक, गुम्बा संरक्षण समितिको सह–आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
नेपाल तामाङ बोन्पो घेदुङका अध्यक्ष चिन बहादुर तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले ला नरु बोन झाँक्रीको प्रतिमाले इर्खुलाई सुन्दर देखाएको बताउनु भयो । उहाँले “धर्म तपाईको हो तर यो सम्पत्ति, सांस्कृतिक विविधता, संस्कार सबै राष्ट्रको सम्पत्ती हो ।” भन्नुभयो । उहाँले बोन झाँक्रीको प्रतिमा र नजिकैको रानीपोखरी मन्दिर, वरपर फूलहरु लगाउन र शौचालय बनाउन नगरपालिकाबाट पहल गर्ने बताउनु भयो । माझी समुदाय जनजातिहरूले १ जनाले बीमा गरेपछि ५ जनाले निःशुल्क उपचार गर्न पाउने र टुहुरा बालबालिकाहरूले निःशुल्क पढ्न पाउने गरी होस्टेलसहितको बालग्राम मेलचौर खोलिएको बताउनु भयो । 
कार्यक्रममा बोल्दै पूर्व मेयर अमान सिं तामाङले ला नरु बोन प्राचिन कालमा शक्तिशाली झाँक्रीको रुपमा परिचित रहेको बताउनुभयो । ला नरुबोनको इतिहास र अहिले पनि झाँक्रीको तामाङ तथा अन्य समुदायमा पनि महत्वपूर्ण भूमिका रहेकाले आफु मेयर हुदाको कार्यकालमानै प्रतिमा स्थापनाका लागि सुरुवात गरिएको स्मरण गराउनुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष अमृत बहादुर दंगालले इर्खु सिन्धुपाल्चोक जिल्लाको प्रवेशद्वार रूपमा रहेकोले यस ठाउलाई पर्यटकीय स्थलको सम्भावना बोकेकोे बताउनु भयो ।
प्रतिमा/सालिक गुम्बा संरक्षक समितिका संयोजक धन बहादुर गोलेले विभिन्न धर्म भाषा, वैयक्तिक स्वतन्त्रता कुरा हो, कसैले कसैको धर्मप्रति हस्तक्षेप गर्न नपाउने र सबै संस्कार र संस्कृतिको सम्मान गर्नुपर्छ भन्नभयो । उक्त कार्यक्रममा झाँक्री नाँच, साङ सेक्र्याम, शिल , मादले, डम्फु गीतसंगै नाच पनि प्रदर्शन गरिएको थियो । जनप्रतिनिधि, स्थानिय, तामाङ समुदायका अगुवा र झाँक्रीहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रमकै अवसर पारेर ला–नरुबोन प्रतिमा÷सालिक निर्माणका निम्ति सहयोग गर्ने जग्गादाता, चन्दादातालगायत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन अन्जली गोले तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य धना गोले तामाङले राख्नुभएको थियो ।

