सम्पर्क

मगरहरुको साँस्कृतिक (वाङ्ग) राजामा रमेश कनौजे मगर

दर्शन सुनार/लोकप्रिय दैनिक
नेपाल मगर संघ शाखा कतारले वाक्राको समुन्द्र विचमा एक आन्तरिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गर्दै यस बर्षको सांस्कृतिक (वाङ्ग) राजा चुनेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि संघले माघ्या सकराटी (मगर मिनाम ल्हेस) कार्यक्रमको अवसर पारेर संस्कार र संस्कृतिलाई जोगाई राख्न तथा आफ्नो परम्परालाई निरन्तरता दिदै संघले दौड प्रतियोगिता गरेर कतारको लागी मगरहरुको राजा चुनेको हो ।

यस बर्षको (वाङ्ग) राजामा पहिलो स्थान हासिल गर्न सफल पाल्पा जिल्लाका रमेश कनौजे मगर यस बर्षको राजा हुनुभएको छ भने दोस्रो स्थान हासिल सफल गर्न पाल्पा जिल्लाकै जनक थापा मगर रहनुभएको छ । दौड प्रतिस्पर्धा गरेर राजा चुनिने रोचक प्रतियोगितामा संघका प्रमुख सल्लाहकार विवेक पुलामि मगर,सल्लाहकार भिम तरामु मगर,जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर,रबिन मगर, लगायत संघमा आवद्ध रहेका अन्य मगर जवानहरूले भाग लिएका थिए । नेपालको बाईसे, चौबिसे राज्यको पालामा गोरखाको लिगलिगे कोटमा मगरहरु दौडेर राजा हुने प्रचलन रहेको र नेपालको बर्तमान राज्य ब्यबस्था जस्तो भएता पनि इतिहास भनेको इतिहास नै हुन्छ । त्यसैले इतिहासलाई हामीले कहिल्यै पनि बिर्सनु न हुने र संघले स्थापना काल देखि नै सस्कृतिको रुपमा मान्यता दिदै आएको बताउदै यो बर्षको (वाङ्ग) राजा चुनेको संघका अध्यक्ष रेशम आले मगर बताउनुहुन्छ ।

मगरहरुको प्रमुख राष्ट्रिय चाड(मगर मिनाम ल्हेस५०१८) कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न विभिन्न कोण बाट आर्थिक नैतिक भौतिक सहयोग गरेका सम्पुर्ण सहयोगी दाता,कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनो ग्रहण गर्दै सम्मान गरिएको थियो । नेपाल मगर संघको मातहतको रहेको साँस्कृतिक बिभागमा आवद्ध रहेका कलाकारहरुले राखेको सागिंतिक प्रस्तुतिले कार्यक्रम सगिंतमय बनेको थियो । कार्यक्रममा सहभागी रहेका महिलाहरुको लागि म्युजिकलचियर खेल खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो ।

मगरहरुको राष्ट्रिय चाडलाई सफल बनाउन सहयोग गरेका सहयोगी तथा कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका अध्यक्ष रेशम आले मगरले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत साथ सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्नुभयो ।