दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी” कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार कतार आईपुग्नुभएको छ । “सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता“ भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित वनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमका लागी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर बुधबार राती कतार आईपुगेकी हुन ।
अतिथि कलाकार लामिछाने मगरलाई भब्य स्वागत गर्नको लागी कार्यक्रम संयोजक,सह संयोजक लगायत अन्य विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । संघले हरेक बर्ष मनाउदै आएको आफ्नो साँस्कृतिक चाड बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक कुमार राहादी मगरले जानकारी दिनुभएको छ ।
साँस्कृतिक कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कतारको मातहतमा रहेका विभिन्न मातृं संस्थाहरुले जातियता झल्काउने गायन तथा सामुहिक नृत्य,सगैं नेपाल मगर साँस्कृतिक परिवारका कलाकारहरुको बेजोड प्रस्तुतिहरु सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या सगैं कतारमा रहेका स्थानीय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने कार्यक्रम सह संयोजक डम्बर बुढा मगर बताउनुहुन्छ ।
शुक्रबार कतारको अबुहमर स्थित ईन्डियन आईडियल स्कुलको सभाहलमा बिहान १० बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा शरिक हुने चाहने ब्यक्तित्वहरुका लागी कतारका विभिन्न स्थानहरुबाट निःशुल्क यातयातको ब्यवस्था समेत रहेको छ । कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन नेपाल मगर संघ शाखा कतारले अनुरोध समेत गरेको छ । लोकप्रिय राष्ट्रिय दैनिक समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।