सम्पर्क

सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय श्री कृष्ण रत्न गंगा मावि ७८औँ वर्षमा

सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय श्री कृष्ण रत्न गंगा माविको ७८ औँ बार्षिकउत्सव तथा ५० औँ अविभाबक भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले आगामी बर्ष १२ कक्षा सम्मको शिक्षा निःशुल्क बनाउने उदघोष गर्नुभएको थियो । उहाँले वर्तमान शिक्षा हातमा प्रमाणपत्र लिने मात्रै होईन अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी रहेको बताउनुभयो । व्यवस्था परिवर्तन भएपनि आधारभूत रुपमा जनताको अवस्था परिवर्तन नभएकोले यसतर्फ लागिपर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।
सापकोटाले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने प्रण गर्नुभयो । शिक्षकहरुले प्रविधिको विकासलाई आत्मसाथ गर्दै खोजमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
पूर्व सांसद कृष्णराज श्रेष्ठले कठिन परिस्थितिमा बिद्यालय स्थापना गर्ने संस्थापकहरु भक्तध्वज प्रधान र प्रस्तावकर्ता समुन्द्र प्रसाद श्रेष्ठको सम्झना गर्नुभयो । श्रेष्ठले उक्त बिद्यालयमा २० बर्ष अध्यापन गराएको, १६ बर्ष बिद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेकाले पूर्व सांसद भन्दापनि पूर्व अध्यक्षको रुपमा प्रस्तुत हुँदा आनन्द प्राप्त हुने बताउनुभयो ।
शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदीले शिक्षा देशको मेरुदण्ड भएको बताउनुभयो । उहाँले शिक्षा पढ्नु मात्रै नभइ नैतिकवान चरित्रवान र अनुशासित बन्नु पनि हो भन्नुभयो । आगामी शिक्षा टिक्ने टिकाउने र बिक्ने बिकाउने शैक्षिक जनशक्ति उत्पादन गर्नमा जाृड दिन बिद्यालयलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष एवं वडा शिक्षा समितिका संयोजक शिव श्रेष्ठले बिद्यालयप्रति समुदायस्तरबाट प्रश्न उठ्ने गरेको सुनाउनुभयो । उनले बिव्यस र बिद्यालय प्रशासनले उक्त कुरालाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
रामज्वती फाउन्डेसनका संरक्षक एवं समाजसेवी रामचन्द्र श्रेष्ठले बिद्यालयमा कसैले राजनीति गर्न नहुने तर्क गर्नुभयो । उहाँ बिद्यालयको पूर्वबिद्यार्थी समेत रहेकाले स्कुलप्रतिको माया सदैव रहने बताउनुभयो । रामज्वती फाउण्डेशनले २ जना जेहेन्दार बिद्यार्थीहरुलाई १० हजारका दरले सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा सहयोगी र बिद्यालयमा योगदान पुर्याउहरुलाई सम्मान, उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । जसमा बिद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गर्ने चौताराका समाजसेवी एवं युवा व्यवसायी भुपेन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै बिद्यालयको बर्ष उत्कृष्ठ शिक्षकको रुपमा दिपेश सापकोटा र उत्कृष्ठ शिक्षक रेशम खत्रीलाई पनि सम्मान गरिएको थियो । साथै सोही अवसरमा लामो समय उक्त बिद्यालयमा शिक्षण गरेका हाल चौतारा बहुमूखी क्याम्पसका सहायक प्राचार्य राजेन्द्रकुमार श्रेष्ठ सम्मानित भए । पूर्व बिद्यालय कर्मचारी दिर्घसेवी अमरबहादुर श्रेष्ठलाई पनि उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्राधानाध्यापक हर्षलाल तामाङको उद्घोषणमा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी, शिक्षक, बुद्धिजीबी, चन्दादाता, समाजसेवी, अभिभावक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिद्यार्थीहरुको विविध गीत नृत्य र सौन्दर्यात्मक साँस्कृतिक प्रस्तुतीले मनोरञ्जनात्मक प्रदान गरेको थियोे । साथै हाँस्यकलाकार धनश्याम तिमल्सीना (एन्टीना) र दिपक आचार्यको नेतृत्वमा रहेको लोककलाकर्मीहरुको दोहारी प्रतियोगीताले झनै आकर्षक बनाएको थियो ।