दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार
कतारवासी तमूहरुको साझा संस्था तमु (गुरुङ) समाज कतारले यस बर्षको सप्री ल्हो ल्होसार आगामी ३ जनवरी –२०२५ को दिन धुमधामका साथ मनाईने भएको छ । “तमुहरुको एकता, आजको आवश्यकता“ भन्ने मुल उद्देश्य लिएर कतारमा सन् – २००४ मा स्थापना भएको यस संस्थाले नयाँ वर्षको रुपमा हरेक वर्ष पुस १५ मा मनाउदै आएको ल्होसार बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि मुप्र्हि ल्होलाई बिदाई र सप्र्हि ल्हो लाई स्वागत गर्दै मनाउन लागेको हो । तमूहरुको आफ्नो साँस्कृतिक “राष्ट्रिय पर्व“ ल्होसार पर्व यस बर्षको सप्र्हि ल्हो–ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित हास्य कलाकार तथा जादुंगर शेर बहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङ र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित तथा स्यौं कैं को कार्यक्रम पनि रहने कुरा आयोजकले जनाएको छ । कार्यक्रममा एनआरएन आइडल २०२३ का विजेता रुस्तम तामाङ, नृत्य तर्फकी विजेता निरु श्रेष्ठ लगायत अन्य अन्य थुप्रै कलाकारहरुको सांगीतिक प्रस्तुतिहरु रहनेछ ।
कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुको लागी कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको समेत ब्यवस्थापन गरिएको आयोजक समितिले बताएको छ ।
शुक्रबार अबु हामुर स्थित आइडियल इन्डियन स्कुलको सभाहलमा तमु (गुरुङ) समाज कतारको आयोजनामा हुन लागेको राष्ट्रिय पर्व सप्र्हि ल्हो–ल्होसार तथा स्यौं कैं कार्यक्रम – २०२५ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगे सगै नेपालबाट आमन्त्रित कलाकारलाई स्वागत गर्न आतुर छौ, तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङ बताउनुहुन्छ ।
कतारमा स्थापित विभिन्न संघ संस्थाहरु, बैचारिक संस्थाहरु, विशिष्ठ व्यक्तित्वहरु, समाजसेवीहरु, बुद्धिजीवीहरु, सामाजिक अभियन्ताहरु, व्यवसायीहरु, कलाकारहरु, मिडियाकर्मीहरु पत्रकारहरुलाई उपस्थित भएर कार्यक्रमलाई भब्य रुपमा सफल बनाईदिन तमु गुरुङ समाज कतारले अनुरोध समेत गरेको छ ।
