सम्पर्क

सिन्धुपाल्चोकको वसन्तपुरमा पुष १६ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

सन्तोष सिग्देल

ईन्द्रावती गाउँपालिका वडा नं ६ सिपा बसन्तपुर, सिन्धुपाल्चोकमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि पुस १६ देखि २२ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । बुधवार पत्रकार र समिति बिच काठमाण्डौमा छलफल गरि सप्ताह गर्नुको उद्देश्य र कार्ययोजनाको बारेमा जानकारी दिइएको छ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा १०८ गोमुखे ढुङ्गेधारा ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तिर्थ निर्माण गर्ने डी. पी. आर. तयार भईसकेको र त्यस कार्यलाई पुर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको समितिका बरिष्ठ उपाध्यक्ष देव कुमार कोईरालाले जानकारी दिनुभयो ।
श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको छ । यश स्थानलाई पितृ तीर्थको रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरलाई नै समितिको रूपमा दर्ता गरि सप्ताहको चरणमा प्रवेश गरेको समितिले जनाएको छ । गाईको खुट्टाको डाम ढुङ्गोमा प्राकृतिक रूपमा स्पष्ट देखिएकोले त्यस ठाउँमा भगवान श्री महादेवको बास भएको जनविश्वास रहेको छ । गाईको खुर रहेकाले गैखुरेश्वर नामाकरण गरिएको समितिका अध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर संधैभरी पानीको मुल फुटेको हुँदा गड्गडेधाम नामाकरण गरिएको आचार्यले बताउनुभयो । यश धाममा मुक्तिनाथको झझल्को आएको स्थानिय अग्रजहरू बताउँछन ।
यस्तै आयोजक समितिका उपाध्यक्ष डा. उत्तम उपाध्याय न्यौपानेले स्थानको परिचय दिने, धर्म संस्कृतिको जगेर्ना गर्ने र अक्षयकोषको स्थापना गर्नु सप्ताह आयोजना गर्नुको मुल उदेश्य रहेको जानकारी दिनुभयो । ’त्यहि स्थानलाई केही सुधार गर्नुपर्छ भनेर यो कामको थालनी गरिएको हो’, न्यौपानेले भन्नुभयो । छलफलमा पण्डित आचार्य नारायण प्रसाद कोईरालाले विधि र प्रक्रियाको बारेमा अवगत गराउनुभयो । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा बर्षभरि विभिन्न समयमा मेला लाग्ने गर्दछ । जनै पूर्णिमा तथा बालाचतुर्दशीमा सम्पुर्ण जातजातीले राती जाग्राम बसेर आफ्ना पितृहरूको सम्झनामा दिप प्रज्वलन गरेर शतवीज छर्ने गरेका छन । श्रावण महिनाको शोमवार सबै नारीहरूले शिवजीको व्रत, उपबास, पुजा अर्चना गर्ने गरेका छन । श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञमा पुस १६ गते बिहान ७ बजे कलशयात्रा, प्रत्येक दिन बिहान ६ः३० देखि १०ः३० सम्म पाठ पारायण, बिहान ७ः३० बजेदेखि हवन, १०ः३० देखि ४ः३० सम्म कथावाचन र प्रत्येक दिन बेलुका भजन कीर्तन हुने समितिले जनाएको छ । साथै दातालाई सम्मान समेत गरिने छ ।