दर्शन सुनार/लोकप्रिय दैनिक/दोहा, कतार
“धनकुटा सेवा समाजको चाहना, शुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले आन्तरिक भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बिविध साँस्कृतिक कार्यक्रमको साथमा धनकुटेली भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष तिल बिक्रम मगरको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार डिल्ली कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा रहेका धनकुटेली तथा गैर धनकुटेलीहरुको उपस्थिति सहित मन्तव्य समेत रहेको थियो । शुभकामना वक्ताहरुले धनकुटा सेवा समाज कतारले स्थापना काल देखी नै गृह जिल्लाको बिकाससँगैं कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा समेत थप राम्रा काम गर्न सल्लाह सुझाव दिदै सामाजिक कार्यमा अग्रसरको निमित्त शुभकामना समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुवेदीले आफ्नो मन्तव्य बोल्दै प्रवासमा समाज सुख, दुखको चौतारी रहेको र दुख पर्दा समाज सहयात्री बन्न सक्ने बताउदै कतारलाई कर्म थलो बनाउदै आएका धनकुटेली दाजुभाई तथा दिदीबहिनीहरुलाई समाजमा आवद्ध हुन सबैलाई आग्रह समेत गर्नुभयो । उहाँले समाजसँग जोडिदा एक आपसमा भाईचारा र सद्भाव समेत बढ्ने र प्रवास बसाईमा दुख कठिनाई पर्दा एक्ले अर्कोलाई सहयोग गरेर अगाडी बढन प्रेरणा मिल्ने बताउनुभयो ।
करिब एक सय जना भन्दा बढी उपस्थिति रहेको कार्यक्रममा मनोरञ्जनात्मक सगै धनकुटाको चौबिसे मिनि मगरात मुढेबास बाट सुरु भएको हुर्रा नाच पनि सबैले नाचेर रमाएका थिए । कार्यक्रमको समापन गर्दै सभापति मगरले शुक्रबारको दिन मौसमले पनि मिठो साथ दिएकोमा प्रकृति प्रति खुसी व्यक्त गर्दै कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने, कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न संस्थाका सम्पुर्ण पदाधिकारीहरु लगायत कार्यक्रममा उपस्थित धनकुटेली तथा गैर धनकुटेलीहरुलाई हार्दिक आभार व्यक्त गर्दै आफू स्वयंम कतारको एक निर्माण कम्पनिमा सेफ्टी अफिसरको रुपमा श्रम गर्दै आएकाले उपस्थित सबै श्रमजीवी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई काम गर्ने क्रममा कतारको नियम कानुन, आफुले काम गरेको कम्पनी र आफुले प्रयोग गर्नु पर्ने सुरक्षा उपकरणहरु अनिवार्य रुपमा प्रयोग गरेर काम गर्न सुझाब समेत दिनुभयो । मगरले जसरी आफ्नो देश बाट सकुशल आएका थियौ त्यसरी नै आर्थिक आय आर्जन गरेर शकुशल घर फर्कनुपर्छ । घर फर्कदै गर्दा कसैले शारीरिक अङ्ग भङ्ग भएर फर्कन नपरोस् भन्ने सुरक्षा सम्बन्धि समेत सचेत गराए। समाजका प्रथम उपाध्यक्ष रबिन मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचिव योगेन्द्र बरालले गर्नुभएको थियो ।
