सम्पर्क

ईन्द्रावतीका ३३ विद्यालयले बार्षिक एक करोड पैसठ्ठी लाख अनुदान पाउने

ईन्द्रावती गाउँपालिकाका ३३ विद्यालयले बार्षिक एक करोड पैसठ्ठी लाख अनुदान पाउने भएको छ । युएसएआइडीले ईन्द्रावतीका ३३ विद्यालयलाई बार्षिक ५ लाखको दरले अनुदान दिने भएको हो ।
गाउँपालिकामा बुधवार एक कार्यक्रमको आयोजना गरि युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ अन्तर्गत विद्यालय अनुदान सम्झौता र कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएको थियो । उक्त कार्यक्रम ५ बर्ष चल्ने भएतापनि हाल १ बर्षको लागि सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता बमोजिम कार्यक्रम भएको नभएको शिक्षा शाखाले अनुगमन गर्नेछ । शिक्षक मात्रै नभई विव्यस अध्यक्ष पनि यो कार्यक्रम कार्यान्वयन गर्न लाग्नुपर्ने जरूरी रहेको युएसएआइडीका प्रतिनिधिहरूले जानकारी दिनुभयो ।
सो रकमबाट भौतिक पुर्वाधार निर्माण गर्न पाईने छैन । सिमेन्ट र इट्टाको प्रयोगबाट पुर्वाधार बनाउन नपाईने बताइएको छ । अनुदान विद्यालयलाई २ किस्तामा उपलब्ध गराइने र सिकाई उपलब्धि हाँसिल गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता गरे पश्चात् विद्यालयले तत्कालै ३ लाख पाउने र कार्यक्रम सम्पन्न गरेपश्चात बाँकी २ लाख उपलब्ध गराइने युएसएआइडीका एक प्रतिनिधिले जानकारी दिनुभयो । विद्यालयले सो अनुदान १५ वटा शिर्षकमा खर्च गर्न पाउनेछन् । देशको ७५३ स्थानियतह मध्ये १०९ पालिकामा यो कार्यक्रम लागू भएको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले प्रारम्भिक कक्षा सिकाईमा आधारित विद्यालय अनुदानले गाउँपालिकाका सामुदायिक विद्यालयको जग बलियो हुने बिश्वास व्यक्त गर्नुभयो । सिकाई उपलब्धि बृद्वि गर्नको लागि यो कार्यक्रम महत्वपुर्ण रहेको उहाँको भनाई छ । सिन्धुपाल्चोकका १२ पालिका मध्ये २ पालिकाले यो कार्यक्रम गर्न लागेको हो । ईन्द्रावती र भोटेकोशीले यो कार्यक्रम गर्ने अवसर पाएको छ । प्रत्येक विद्यालयले ४ हजार डलर प्राप्त गर्नेछन् ।
हाल गाउँपालिकाका हरेक क्षेत्रको नितिहरू बनेको जानकारी दिँदै अध्यक्ष नेपालले ईन्द्रावतीको उपलब्धी अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभयो । ’यस कार्यक्रमबाट भएका उपलब्धीहरू भिडियो डकुमेन्ट्रि बनाउने र दस्तावेज तयार पार्नेछौँ’, उहाँले भन्नुभयो ’यहाँका उपलब्धीहरू देश र बिदेशमा देखाउने छौँ’ ।
सोहि अवसरमा पालिका अध्यक्ष नेपालले अशक्त अपाङ्गहरूको घर घरमै गएर निशुल्क स्वास्थ्य जाँच गर्ने गरेको उल्लेख गर्नुभयो । ’स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिमुलक काम भएका छन्’, उहाँले भन्नुभयो ।