सम्पर्क

चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना

सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र भएको बताउँदै दिनहुँ यस क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान भई नयाँ–नयाँ उपचार पद्धति, प्रविधि र औषधिको आविष्कार भइरहेको र त्यसलाई हामीले हाम्रो स्वास्थ्य प्रणालीभित्र समायोजन र अनुकूलन गर्दै जानुपर्ने खाँचो रहेको बताउँदै स्वास्थ्य मन्त्री थापा मगरले यसका लागि यस संस्थानले पनि एकातिर थप पूर्वाधारको विकास गर्दै जान र अर्कोतर्फ नयाँ प्रविधि र पद्धतिलाई क्रमशः आत्मसात् गर्दै अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले चौतारा अस्पताल आफ्नो सेवा क्षेत्रभित्र उत्कृष्ट अस्पतालको रूपमा निरन्तरता दिँदै अघि बढ्न सकोस् भन्ने शुभकामना सहितै यस अस्पताललाई गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा कसरी विकास गरेर अघि लैजान सकिन्छ भन्ने सामूहिक प्रयत्नका माध्यमबाट सोच्न जरुरी रहेको बताउनुभयो ।
उहाँले चौतारा अस्पताललाई ५० शैयाबाट बढाएर एक सय शैयाँको बनाउन पहल भैरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले अस्पतालमा अहिले ब्लड बैंकको आवश्यकता रहेको र त्यसका लागि नगरपालिकाले जिम्मेवारी लिने र कर्मचारीको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले नीति कार्यक्रममा समेत बजेट व्यवस्थापन गरेको र स्वास्थ्य क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो । नगरपालिकाका उपप्रमुख सीता थापाले हालै उद्घाटन गरिएको शाखा तथा केन्द्रबाट नागरिकले चाहे जस्तो सेवा र सुविधा दिन सकोस् भन्दै शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाली कांँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले तामाङले भवन कक्षाको मात्रै स्थापना गरेर केही उपलब्धि नहुने बताउनुभयो । सुविधा सम्पन्न भवन मात्रै भएर केहि हुदैन त्यहाँ दिने सेवा सुविधा पनि गुणस्तर हुनेपर्नेमा उहाँको जोड थियो । अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नलाई आफुले सकेको सहयोग पनि गर्ने उहाँले बताउनुभयो । तामाङले विरामीहरुलाई धुलिखेल काठमाण्डांैका अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न अस्पतालले गुणस्तरीय सेवा जोड दिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्यहरु माइली तामाङ र अमृता नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झक्कनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।