मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ द्धारा आयोजित गायन प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका ५ समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।
नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका ७ वडा कार्यालय प्राङ्गणमा आईतबार भएको प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो, बालसुधार माध्यमिक विद्यालय–दोश्रो, भारतिथोक आमा समूह तेस्रो तथा देविस्थान आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सचिव मधुबिलास देवकोटाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ,द्रोश्रोलाई ४ हजार ५ सय ,तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गायन प्रतियोगितामा गायक पदम दुलाल,गायिका सीता दुलाल र शिक्षिका रूक्मणी भट्टराईले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा गायक पदम दुलाल र गायिका सीता दुलालले मनोरन्जन दिनुभयको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले नेपाली महिलाहरूले परापुर्वकालदेखि धार्मिक,सांस्कृतिक पर्वको रूपमा मनाउदै आएको तीज मौलिक पक्षको संरक्षण गर्दै पर्वलाई विकृतिको रूपमा नभई संस्कृतिको रूपमा मनाउन अनुरोध गर्नुभयो । उहाँले महिला सशक्तीकरण गर्नु आजको आवश्यकता रहेको बताँउदै कार्यक्रमले महिला सशक्तीकरणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै वडा अध्यक्ष पासाङ तामाङले वडाले कला संस्कृतिको संरक्षणका लागि नेवार समुदायलाई धिमे बाजा तालिम , दलित समुदायको लागि बाजाको व्यवस्था गरिएको बताउनुभयो । कार्यक्रममा पुर्व वडा सचिव बिष्णु गौतम, प्राबिधिक दिनेश सिग्देललाई सम्मान समेत गरिएको थियो । वडा अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ,ज्योति भञ्ज्याङ आधारभुत विद्यालयका प्रधानाध्यापक धिरज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा जनप्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू लगायत स्थानियको उपस्थिति रहेको थियो ।
