दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् ।
खासा क्षेत्रमा दसैंलक्षित सामग्री बोकेका ७० वटा र फलफूल बोकेका २३ वटा गरी ९३ कन्टेनर लामबद्ध छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग्री र फलफूल समयमै नआइपुग्ने त्रासले व्यवसायी चिन्तित छन् । ‘दसैं आउन धेरै समय छैन, उता व्यापारीले हालेको सामान समयमै राजधानी आइनपुग्दा हामीजस्ता दर्जनौं व्यापारी पिरोलिन थालेका छन्,’ व्यवसायी कपिल पाख्रिनले भन्नुभयो । केही दिनअघि चीनको खासा र न्यालम क्षेत्रको पुनर्निर्माण अवस्था निरीक्षण गरेर आएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत दयानन्द केसीले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरेको बताउनुभयो ।
