सम्पर्क

सिन्धुपाल्चोकमा विपद् तथा विकासको अवस्थाको अवलोकन गर्दै भौतिक मन्त्री दाहाल

भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवस्थाको अवलोकन गर्नुभएको छ । मंगलबार सिन्धुपाल्चोकको खाडीचौर, जुरे, बाह्रविसे, सुनकोशी, खागदल, ब्वाँसेरीलगायतका स्थानमा विपद्को क्षतिको निरीक्षण गरिएको हो । विपद्ले पु¥याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारि समेत लिनुभएको हो ।
अनुगमनको क्रममा खाडीचौरमा बषौदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै तत्काल बाँकी काम अगाडी वढाउन निर्देशन समेत दिनुभयो । सडक विभागका महानिर्देशक समेतको निरीक्षण टोलिले उक्त पुलको बाँकी काम तत्काल सम्पन्न गर्नेगरी आवश्यक प्रक्रिया सुरु हुने स्थानीयलाई विश्वस्त पारेका छन् ।
गत असारमा आएको बाढीले वगाएको खागदल खोलाको अवस्था समेत उक्त टोलीले निरीक्षण गरेको छ । नेपाल चीन वीचको मुख्य ब्यापारिक नाका सम्मको उक्त अरनिको राजमार्गमा दुई साता भित्रै वेलिब्रिज निर्माण सम्पन्न हुनेगरी काम अगाडी वढाउन मन्त्रीले निर्देशन दिनुभएको छ । बाह्रविसे–पिस्कर सडक, बाह्रविसे–बुधेपा–घोर्थली सडक स्तरोन्नती, बाह्रविसे वडा नंम्वर ६ र ७ जोड्ने ब्वाँसेरी मोटरेवल पुल, जुरे क्षेत्रको सडको दिगो समाधान लगायतका विषयमा स्थानीय, जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वले मन्त्री तथा सडक विभाग समक्ष ध्यानाकर्षण गराएका छन् । उक्त स्थानका अवस्थाको जानकारि लिदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरु लाग्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
विपद्को अवलोकन तथा विकास आयोजनाको अनुगमन पश्चात सुनकोशी गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री दाहालले भर्खरै निर्माण भएको सरकार स्थायीत्वको लागि निर्माण भएको र विकास र समृद्धिका लागि केन्द्रीत हुने बताउनुभयो । ‘मन्त्रीले विकासको जानकारि लिनै नपाई सरकार परिवर्तन हुने परिपाटीले पनि विकास आयोजनाहरु प्रभावित हुन पुगेका हुन्, अव विकासले गति लिन्छ’–मन्त्री दाहालले भन्नुभयो –‘सरकारले स्थिरता दिन्छ, उत्पादन, रोजगारी सहितको समृद्धिको बाटोमा रहेका स्थानीय सरकारका कार्यक्रममा सहकार्य रहनेछ ।’ मन्त्री समक्ष सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले स्थानीय सरकारले संचालन गर्न नसकेका उद्यम विकास तथा विकास आयोजनाहरु संचालनमा केन्द्र सरकारको सहयोगको अपेक्षा समेत राख्नुभयो ।
मेलम्ची हेलम्बु क्षेत्रको अवलोकन गर्दै मन्त्री दाहालले भौतिक पुर्वाधार मन्त्रालय बाट गर्ने सडक,पुल लगायतको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंचाइ लगायतको काम हरु अन्य मन्त्रालय संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । मन्त्री दाहालले भर्खरै मन्त्रालय सम्हालेको भन्दै अब खाल्डाखुल्डी पुर्ने नाला ब्यबस्थापन गर्ने लगायतका कामलाई तत्काल प्राथमिकता दिने बताउनुभयो । मन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनालाई स्थायी तरिकाले ब्यबस्थापन गर्ने कुरामा प्रकृति संग जुधिरहेको बताउनुभयो ।
विपद्प्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा यो वर्षको वर्षादले थप क्षति पु¥याएपछि नेकपा एमाले सिन्धुपाल्चोकका नेतृत्वले मन्त्री सहितको सरोकारवाला टीमलाई जिल्लाको अवलोकनको लागि अनुरोध गरी मन्त्रीको अवलोकन कार्यक्रम तय गरिएको एमाले केन्द्रीय कमिटी सदस्य सरेश नेपालले जानकारि दिनुभयो । नेता नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रदेश कमिटी सदस्य अशोक चौलागाई, एमाले बाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ ‘क’का प्रत्यासी डीवि लामासहितले समग्र अवस्थावारे मन्त्री समक्ष जानकारि गराएका हुन् ।