बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमनकुमार मास्केले सामाजिक सद्भाव, समन्वय, सहकार्य र सहअस्तित्व कायम राख्दै विकासका कामलाई अगाडी बढाउने बताउनुभएको छ । छापभन्ज्याङ ठाँटीपोखरी ढाँडखोला फट्केश्वर सडक कालोपत्रेको लागी शिलान्यास गर्दै मन्त्री मास्केले हाम्रा राजनीतिक आस्थाहरु फरक फरक भएपनि सबै मिलेर सहकार्य र सहअस्तित्व कायम गर्दै विकास गर्ने कुरामा आफु सचेत रहेको बताउनुभयो । भोटेकोसी, भुकम्प,मेलम्ची बाढी,र लार्केको बाढिले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागी सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री मास्केले बागमती प्रदेश संगै देशको समृद्धिको लागी अब पनि काम नगर्ने हो भने कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले रुग्ण आयोजनाका निर्माण ब्यबशायी हरुलाई समयमै गुणस्तरीय काम गर्न निर्देशन दिदैं समयमै काम नगर्ने ठेकेदारहरुको ठेक्का तोड्दै र कालोसूचीमामा हाल्ने चेतावनी दिनुभयो । उहाँले ठेकेदारका कारण अलपत्र परेका आयोजनाहरुको काम सम्पन्न गर्नका लागी उनीहरुकै घर घर बाट असुली गर्नेसमेत बताउनुभयो । मन्त्री मास्केले छापभन्ज्याङ ठाँटीपोखरी ढाँडखोला फट्केश्वर सडक तोकेका समय भित्र काम सम्पन्न गर्न निर्देशन दिनुभयो । दादागिरी र राजनीतिक दबाबको आधारमा कसैको पनि समयावधि नथपिने बताउँदै मन्त्री पद भनेको अस्थायी भएपनि स्थायी भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलाल शरदले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सम्पन्न गर्नका लागी शुभकामना व्यक्त गर्नुभयो । समयमै सम्पन्न गर्नका लागी उपयुक्त वातावरण बन्नेमा आफु बिश्वस्त रहेको उहाँको भनाई थियो । आगामी दिनमा गर्नपर्ने सहयोग गर्नका लागी आफु तयार बताउँदै पूर्वमन्त्री दुलालले जो सुकै सरकारमा भएपनि राज्य प्रतिको र जनता प्रतिको दायित्व पुरा गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको मन मन जोड्नुपनि देश बनाउनु भएकाले आफ्नो दायित्व पुरा गर्न सुझाव दिनुभयो । पूर्वमन्त्री दुलालले प्रदेश सडक गुरुयोजना तयार गरेर पास गरेको स्मरण गर्दैे एउटा योजना बनाएर ति योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो । गुठी समस्या समाधानको लागी पहल गर्नेकुरामा आफु सधैं अग्रसर रहेको बताउनुभयो ।
उहाँले पधेरेचौर देखि फट्केस्वर सडकमा समेत एकहप्ता भित्र टेण्डर आह्वान गरेर कालोपत्रेका लागी प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पुर्व सांसद सुवास कर्मचार्यले यस भेगबाट काठमाडौ राजधानी जानको लागी सबैभन्दा छोटो र पक्की भएकाले यो सडकको महत्त्व रहेको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्नेगरि लाग्न आग्रह गर्नुभयो । कर्मचार्यले गुठी समस्या समाधानका लागी नेकपा एमालेले विगत देखी नै कुरा उठाउदै आएको भन्दै यो ठाउँको समस्या समस्या समाधानका लागी चासो दिन आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ठेक्का प्रक्रियामा जादा समयमै काम सम्पन्न नहुने,म्याद थप्दै काम गर्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय काम नहुने भन्दै यस्ता समस्या समाधानको लागी मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सहज रुपमा काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबै स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार संग समन्वय नगरि कतिपय काम हुने गरेको भन्दै समन्वय अनि गुणस्तरीय काम हुनेमा आफु ढुक्क रहेको बताउनुभयो ।
वडा अध्यक्ष अध्यक्ष श्रीराम घोरासैनीले गुठी समस्या समाधानका लागी पहल गर्न आग्रह गर्नुभयो । पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख भरतकुमार यादवको अध्यक्षतामा भएको थियो । भ्याट सहित ११ करोडमा ठेक्का सो सडक २०८२ पौष १५ भित्र सम्पन्न गर्नुपर्ने यादवले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । कुश–टि एस.एन.जेभीले निमार्णको ठेक्का पाएको छ ।
