सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा एक वृद्धाको लुटपाटपछि हत्या भएको घटनामा संलग्न आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबेसीका ३६ बर्षीय फुने भनिने सन्जिव देउजा रहेका छन् । देउजाले ७१ वर्षीया वृद्धा रत्न कुमारी थापालाई घरमा केहि दिनदेखी सुराकी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न देउजालाई प्रहरीले सोमबार काठमाण्डौै गोगंवुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिएको छ । देउजाले लुटपाट गरेको नगद रकम खर्च गरी सकिएको र गहना भने बेच्नको लागि कोही व्यक्तिलाई दिएको खुलेको छ ।
यसरी भएको थियो घटना
गत साउन १८ गते शुक्रबार दिउँसोको समयमा बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा ७१ वर्षीया वृद्धा रत्न कुमारी थापाको आफ्नै घरमा शव फेला परेको थियो । मृतक थापाको शरिरमा कुनै चोटपटक भने देखिएको थिएन तर हातमा डोरीले बानिएको अवस्थामा शव फेला परेको थियो । हत्यापछि उनले लगाएको सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको सुनको रिङ, घाँटीमा लगाएको सुनको तिलहरी गरि अनुमानीत डेढ तोला सुन र २ दिन अगाडी प्राप्त बृद्धभत्ता १२ हजार र मृतक थापाको छोरी स्वस्थानी बस्नेतले केही दिन अगाडी सापटी रकम फिर्ता दिएको नगद ५० हजार गरि ६२ हजार नगद रकम समेत लुटेर फरार भएका थिए । घटनाबारे जानकारी आएपछि अनुसन्धानका लागि तालिमप्राप्त कुकुर, सहित जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोली घटनास्थल पुगेको थियो ।
अनुसन्धानपछि प्रहरीले घटना भएको केही दिनमै हत्या गर्ने व्यक्ति काठमाण्डौंमा रहेको पत्ता लगाएको थियो । हत्या गर्ने सन्जिव देउजा एउटै गाउँको भएको हुदाँ केही दिनको सुराकीपछि योजनाबद्ध ढङ्गबाट दिनधाडै हत्या गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ ।
