वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । विशेष गरेर निरन्तर मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । हैजा हुँदा बान्ता हुने, लुज मोसन हुने, चौलानी पानी जस्तो पखाला हुने गर्छ । तर, पेट दुख्दैन । एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ ।
