सम्पर्क

सिन्धुपाल्चोकमा ४७ वटा मानवअधिकार उल्लंघनका घटना सार्वजनिक

सिन्धुपाल्चोक जिल्लामा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका ४७ वटा घटना सार्वजनिक भएका छन् ।
बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजना तथा नेपाल बार इकाईको समन्वयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्लामा पछिल्ला ६ महिनामा ४७ वटा घटना भएको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा महिला अधिकारसँंग सम्बन्धित घटना धेरै भएको इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यक्ति हत्याका ४ वटा, बालअधिकार संग सम्बन्धित घटना १० वटा, महिला अधिकार संग सम्बन्धित २८ वटा घटना, जातिय बिभेद १ वटा, कारागार भित्र मृत्यु १, शिक्षकलाई कार्यस्थलभित्रै कुटपिट १ वटा, कुटपिट अंगभंग तथा ज्यानमार्ने उद्योग दुई गरी ४७ वटा घटना रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्का    ले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी मानवअधिकार संरक्षणमा सधै संवेदनशिल भएको बताउनुभयो । जिल्ला अदालतका श्रेष्तेदार शारदादेवी पौड्यालले महिलाहरुको मानवअधिकार संरक्षणमा सरोकारवाला निकायहरुको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
जिल्ला सरकारी वकील कार्यालय प्रमुख उर्मिला दहालले मानवअधिकारसँंग सम्बन्धित सबै बिषयहरु एकअर्का संग सम्बन्धित भएकाले सचेतनामा जोड दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका टिका सुवेदीले स्थानिय न्यायीक समितिले सम्पादन गरेका देवानी प्रकृतिका मुद्दाहरुमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनुभयो । अधिवक्ता चन्द्रकुमार बस्नेतले इन्सेकले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको अनुगमनमा जोड दिनुपर्ने सुझाव दिनुभयो । जिल्ला कारागार कार्यालयका प्रमुख रामबहादुर सार्कीले नौ जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा १ सय ४८ जना पुरुष कैदी बन्दी राख्नुपर्दा समस्या भएको बताउनुभयो । जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्र बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा जनजाति महासंघ, महिला अधिकारकर्मी, जिल्लामा क्रियाशिल पत्रकार तथा कानुन ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।