मेलम्ची नगरपालिका –१३ छापभञ्ज्याङमा वृक्षारोपण गरिएको छ । शनिबार विश्व समावेशी साहसी महिला समुहको सक्रियता र मेलम्ची नगरपालिका –१३ को समन्वयमा लप्सी, बाँस, टिम्बुर, आरु, कपुर, कागती लगायतको विभिन्न जातका ४ सय विरुवा रोपिएको वडा सदस्य उद्धव ढुंगानाले जानकारी दिनुभयो ।
विशेषत यो समय बोट विरुवा, बालीनाली लगाउने समय भएकाले त्यहाँका आमा समुहलाई वातावरण सम्बन्धी तालिम प्रदान गरेपछि आज विरुवा रोपिएको विश्व समावेशी साहसी महिला समुहका पूर्व अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।
सार्वजनिक जग्गा भएपनि अतिक्रमित गरिएको जमिन वडाले फिर्ता लिएपछि अहिले वृक्षारोपण गरिएको छ । वडाको योजनालाई सफल बनाउन संस्थाले गरेको सहयोगलाई वडा अध्यक्ष श्रीराम घोरासैनीले धन्यवाद दिनुभयो । ब्यक्तिले अतिक्रमण गरेको जग्गा फिर्तागर्दै विरुवा रोप्ने र अन्य प्रयोजनका लागी प्रयोग गरिने अध्यक्ष घोरासैनीले जानकारी दिनुभयो । रोपिएको विरुवाको रेखदेख तथा संरक्षण आमा समुहले गर्नेछ । प्रत्येक महिनाको ७ गते बैंठक बस्ने र त्यहाँ पुगेर गोडमेल, हिंउदको समयमा पानी हाल्ने लगायत आवश्यक काम गर्ने महिला समुहकी अध्यक्ष चम्पा ढुंगानाले जानकारी दिनुभयो ।
