सम्पर्क

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम सुरु

सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी  तिन दिवसीय पुनर्ताजगी तालिम सुरु भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम थालिएको हो ।
तालिममा बोल्दै न्यायिक समितिको संयोजक सुनकोशी गाउपालिकाको उपाध्यक्ष कान्छी लामाले, स्थानीय विवाद निरुपणका लागि वडा स्तरमा छुट्टै मेलमिलाप कक्षको स्थापना भइरहेको जानकारी दिनुभयो ।
‘मेलमिलापकर्ताहरुमा विवादको गाँठो फुकाउन सक्ने क्षमता हुनुपर्छ । विवादलाई वडामा समाधान गर्नु भनेको नागरिकको समय बचाइदिनु हो । खर्चमा वचत गरि दिनु हो । त्यसैले मेलमिलापकर्ताको कुरा सुनेपछि विवादका पक्ष विपक्षहरु मेलमिलापका लागि प्रोत्साहित हुनुपर्छ ।’ उपाध्यक्ष लामाको भनाइ थियो ।
उद्घाटन तालिमलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सानातिना कुराबाट विवाद सुरु हुन्छ । त्यसको कारण थाहा पाएर विवाद ठूलो भए पनि कारण सानो रहेछ भन्ने पक्ष विपक्षलाई अनुभूति गराउनुपर्छ ।’ विवाद निरुपण गर्दा रीति, थिति, विधि र प्रक्रिया पूरा गराउनु पर्ने बताउनुभयो ।
न्यायिक समितिको संयोजक सुनकोशी गाउपालिकाको उपाध्यक्ष कान्छी लामाको अध्यक्षतामा तथा गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा र सातै वडाका अध्यक्षहरू, कर्मचारीहरू,मेलमिलाप संयोजक, मेलमिलापकर्ताहरू लगायतको उपस्थिती रहेको थियो । जेष्ठ २ गते आईतबारदेखि सुरु भएको तालिम जेष्ठ ४ गतेसम्म तीन दिन चल्नेछ ।