* नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा लघुकथा लेखन कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
जेठ ९ गते बुधबार, ब्रह्मदिक् एकेडेमी मकवानपुरको सभाहलमा आयोजित सो कार्यक्रम चौतारीका सचिव युकिसा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सामुदायिक एवम् संस्थागत गरी मकवानपुरका २३ विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अर्चना दाहालले राख्नु भएको थियो । कार्यक्रममा लघुकथा लेखन कार्यशालाको सहजीकरण निमेष निखिलद्वारा गरिएको थियो । अन्तरक्रियात्मक कार्यशालामा देश, विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक , व्यङ्ग्यात्मक र व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताउनुभयो । कार्यशालामा उपस्थित नवसर्जकले प्रदान गरिएको विषयवस्तुमा लघुकथा लेखेका थिए र सो लघुकथा वाचन पनि गरेका थिए । संस्थाका महासचिव समर्पण न्यौपानेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा एक ,एकजना सम्पर्क शिक्षक र एक जना विद्यार्थी संयोजक रहने गरी हरेक विद्यालयको नाममा ७ सदस्यीय नवसर्जक एकाइ समिति गठन गरिएको थियो । संस्थाले जेठ ११ गतेदेखि जुममार्फत् सञ्चालन गर्ने नवसर्जक पाठशाला (अनलाइन प्रशिक्षण कार्यक्रम) को बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथि नवीन सिग्देल र ब्रह्मदिक् एकेडेमीका प्रधानाध्यापक रामबाबु सापकोटाले मन्तव्यको क्रममा शुभकामना दिनुभयो भने डि.बी. बर्तौलाले आभार मन्तव्य राख्नुभएको कुरा शब्दपथले जानकारी गराएको छ ।
* यसैगरी बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बालकला साहित्य महोत्सव अन्तर्गत लघुकथा लेखन कार्यशालाको कार्यक्रम सम्पन्न भएको छ ।
२०८१ साल जेठ १७ , १८ र १९ गते तीनदिनसम्म चलेको उक्त महोत्सव स्थानीय बहुमुखी क्याम्पस , बेलबारी – ३ मा भएको थियो । सो अवसरमा लघुकथा लेखन कार्यशालाको संयोजन कण लघुकथा मञ्च ( कलम) ले गरेको थियो । कार्यशालामा लघुकथाकारहरू उमा सिजापती , श्री प्रसाद पोखरेल , दिप मंग्राती , रोशन पराजुली , बिष्णु भण्डारी र शारदा दहाल भण्डारीले विद्यालय स्तरका बालबालिकालाई लघुकथा लेखनमा प्रशिक्षण गर्नु भयो । उहाँहरूले लघुकथाको परिचय , सैद्धान्तिक तत्वहरू , लेखनका नियमहरू , यसको इतिहास र महत्वबारे उनीहरूलाई सिकाउने प्रयास गर्नु भएको थियो । बालबालिकाहरूले बढो अभिरुचिका साथ लघुकथा लेखन र वाचनको कार्यमा सक्रियता देखाएका थिए भनेर आयोजक पक्षले जानकारी गराएको छ ।
* जेठ महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ४०१ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा नयाँ लघुकथाकारहरू ,
* नानीमैया अधिकारी
* भावना कोइराला
* गुरुप्रसाद सुवेदी
*लक्ष्मी रेग्मी खनाल रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ ।
* लघुकथा प्रतिष्ठान , पोखराको नियमित लघुकथा वाचनको ६१ औं शृङ्खला सम्पन्न भएको छ ।
प्रतिष्ठानको कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सो कार्यक्रम जेठ ११ गते शनिबार पोखरामा सम्पन्न भएको थियो । संस्थाका सदस्य डा. ईश्वरमणि अधिकारीले स्वागत मन्तव्य राख्दै पोखरामा हाल लघुकथाको गतिविधि र लघुकथाको मर्म बुझ्नेको संख्या बढेको बताउनु भयो र नयाँ लघुकथाकारहरूलाई स्वागत गर्नु भयो । उक्त कार्यक्रममा प्रकाश बज्राचार्य, ढाकामोहन अधिकारी, जनार्दन दाहाल, गीता तिवारी, ओमकार अधिकारी, कल्याण पन्त लगायतले आफ्नो लघुकथा वाचन गर्नु भयो । संस्थाका सचिव अमृत क्षेत्रीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
* हाम्रो लघुकथा केन्द्र , नेपाल र सुसेली साहित्यिक प्रतिष्ठानको संयुक्त आयोजनामा डा.शेखरकुमार श्रेष्ठद्वारा लिखित ‘मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रहको विमोचन भएको छ ।
जेठ १९ गते शनिबार दक्षिणकाली , बाँसबारीस्थित ४ न .वडा कार्यलयको सभाहलमा लता के. सीको अध्यक्षतामा विमोचन कार्य सम्पन्न भएको थियो । । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि किशोर पहाडीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।
लता के सी , मोहन बस्नेत , किशोर पहाडी , डा. शेखरकुमार श्रेष्ठ , आर एम डंगोल , पुष्कर खड्का र आवेश मिश्रले लघुकथा गान बजाएर सामूहिकरूपमा कृतिको विमोचन गर्नु भयो । विमोचित कृति मौन अक्षरका सुस्करामाथि नवराज रिजालले समीक्षात्मक टिप्पणी गर्नु भयो भने विवेक शर्मा गौतम र वीरेन्द्र बलामीले लघुकथा वाचन गर्नु भयो । दीपक लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रममा आवेश मिश्रले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका वडाअध्यक्षहरू , केन्द्र र सुसेलीका पदाधिकारीहरू , साहित्यकार तथा शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथिको मन्तव्यमा मेयर मोहन बस्नेतले डा. शेखरकुमार श्रेष्ठ जस्ता स्रष्टालाई प्रोत्साहन र हौसला प्रदान गर्न दक्षिणकाली नगरपालिका हरबखत तयार रहेको बताउँदै साहित्य र साहित्यिक प्रतिष्ठानका लागि पनि नगरपालिकाले बजेटभित्र समेट्ने कुराको प्रतिबद्धता जनाउनु भयो। विशिष्ट अतिथि पहाडीले फर्पिङमा बितेको आफ्नो बाल्यकालको स्मरण गर्नु भयो । दक्षिणकाली नगरपालिकाभित्र साहित्यिक क्रियाकलाप बढ्नुमा डा.शेखरकुमार श्रेष्ठको ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँ यस क्षेत्रकै गहना भएको बताउनु भयो । कृतिकारले लेखकीय मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैमा हार्दिक धन्यवाद दिनु भयो साथै कार्यक्रम सफल तुल्याउन सहयोग पुर्याएकोमा आभार प्रकट गर्नु भयो । सभापतिको आसनबाट लता के.सी.ले दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरू सर्जकसमेत भएकोमा खुसी व्यक्त गर्नु भयो। कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै कृतिकारलाई बधाई तथा शुभकामना दिएर सभा विसर्जन गर्नु भएको थियो
* छहरा साहित्य समाज , धापासीको आयोजनामा लघुकथा गोष्ठी सम्पन्न भएको छ ।
२०८१ जेठ १९ गते शनिवार, ग्रीनल्याण्ड माध्यमिक विद्यालय, धापासीको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता योगेन्द्र तिमिल्सिनाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति ध्रुव मधिकर्मी हुनुहुन्थ्यो भने हरिहर खनाल र प्रा. गङ्गाधर कट्टेल विशेष अतिथि रहनु भएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथिले लघुकथाको विकासक्रमको सन्दर्भ तथा यसका विशेषताहरु माथि प्रकाश पार्नु भएको थियो भने विशेष अतिथिले लघुकथाबारे समालोचकीय दृष्टिकोणको प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा लघुकथाकारहरू हरिहर खनाल, ध्रुव मधिकर्मी, योगेन्द्र तिमिल्सिना, भोला दुलाल, डा. बासुदेव काफ्ले, मञ्जु शर्मा नेपाल, आनन्द पौड्याल, भगवती पौड्याल र शाम्भवी वशिष्टले लघुकथा वाचन गर्नु भएको थियो । डा. बासुदेव काफ्लेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आनन्द पौड्यालले उपस्थित अतिथिलाई स्वागत गर्नु भयो । मञ्चमा आसिन अतिथिहरूलाई पुष्पगुच्छा प्रदान गरी कार्यक्रम सुरू गरिएको थियो । कार्यक्रमका अध्यक्षले उपस्थित अतिथिहरू सबैलाई धन्यवाद दिई कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।
* साहित्य सङ्गम मकवानपुरको आयोजनामा ‘लघुकथा उत्सव-२०८१’ सम्पन्न भएको छ ।
जेठ १९ गते शनिवार हेटौँडा पार्टी प्यालेसमा मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा लघुकथाबारे बहस र लघुकथा वाचन सत्र भएको थियो ।
संस्थाका उपाध्यक्ष सानु खनालले स्वागतका क्रममा मकवानपुरको सबैभन्दा जेठो साहित्यिक संस्थाले साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा
शुभकामना मन्तव्य राख्ने क्रममा लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेलले आगामी दिनमा लघुकथा लेखनमा चौतारीसँग सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्नुभयो ।
‘लघुकथाः सिद्धान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयमा बहस गरिएको थियो । बहसमा चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी हुनुभयो । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका सल्लाहकार तुलसी घिमिरेले गर्नु भएको हो । बहसका क्रममा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्यका तौरतरिकाबारे बताउनुभयो ।
यस्तै सहजकर्ता निधनले कथा, लघुकथा र सूत्रकथाको भेदबारे सोध्नुभएको प्रश्नमा लघुकथा लेखक लोहनीले शब्दसीमा, कथाका गुण र अनावश्यक भावभङ्गी तथा व्याख्याका आधारमा कथाहरूको भिन्नात्मकता रहने बारे चर्चा गर्नुभयो । यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निष्कर्षमा पुर्याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताउनुभयो ।
बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो ? भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने बताउनु भयो । लेखकले सूत्र हेरेर नलेख्ने बरू नवीन प्रयोग गर्दै जानुपर्नेमा सुमन वर्षाले जोड दिनुभयो ।
लघुकथा वाचन सत्रमा किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी रचना शर्मा, धनदेव जोशी, हरि जिसी, किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ ले लघुकथा वाचन गर्नु भयो । । यस सत्रलाई सङ्गम कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गर्नु भएको थियो ।
* २०८१, जेठ १९ गते शनिबार , तानसेनको धवल पुस्तकालयमा
वनमाली निराकारको नयाँ सालिकको जन्म लघुकथा कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
धवल पुस्तकालयका अध्यक्ष युवराज पौडयालको अध्यक्षता र साहित्यकार चाेलेश्वर शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सन्तोष खनालले अतिथिहरूलाई स्वागत गर्नु भयो । प्रमुख अतिथि चाेलेश्वर शर्मा, क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, बुद्धिप्रसाद शर्मा, विजय सागर, सविता भट्टराई, रामप्रसाद अर्यालले मन्तव्यको क्रममा कृतिकारलाई शुभकामना दिनु भयो । साहित्यकार रुद्र ज्ञवालीले लेखकको चिनारी दिनु भयो भने डा. शङ्करप्रसाद गैरेले लघुकथा कृतिमाथि समीक्षा गर्नु भयो ।
धवल पुस्तकालयका सचिव राजेशकुमार अर्यालले चलाउनु भएको सो कार्यक्रममा साहित्यिक संस्थाका प्रमुखहरू , प्रतिनिधिहरू साहित्यकारहरू , शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरू लगायत ६ दर्जन महानुभावहरूको उपस्थिति रहेको थियो।
* सीता रेग्मीकृत् शब्दयात्रा लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
जेठ २७ गते आइतबार स्रष्टा साँझ अमेरिकाको आयोजनामा , जुम प्रविधिमार्फत् लघुकथा गान बजाएर उक्त कार्यक्रम गरिएको थियो । परिचर्चाकारहरू रन्जु खनाल , वन्दना घिमिरे , डा.शेखरकुमार श्रेष्ठ , डा. कुसुमाकार शर्मा गौतम , डा. पुष्करराज भट्ट र खेमराज पोखरेलले कृतिमाथि बृहत् चर्चा गर्नु भयो । उहाँहरूले कृतिभित्र समाविष्ट लघुकथाहरू सरल ,सरस र शुद्ध भाषामा बुनिएको , रूपबिधानका दृष्टिले अब्बल रहेको , घरपरिवार , समाज र देशका कथाव्यथालाई विषयवस्तु बनाइएको , आमाको महिमा , सामाजिक मनोविज्ञान , सामाजिक यथार्थ र आदर्शलाई आत्मसात गरेको , केही लघुकथाले नवीन भाव पस्केको , विपर्यासको प्रयोग ,अविधा अर्थमा कथा बुनिएको , कृतिकार लघुकथाका लेखनतत्वमा सजग रहेको , अग्रजका कृतिहरूबाट प्रभावित भएर लेखिएको प्रतीत हुन्छ भन्ने विचार राख्नु भयो । साथै लघुकथा लेखनको छोटो यात्रामा नै कृति प्रकाशित गर्नु हुने कृतिकार भविष्यका एक उत्कृष्ट श्रष्टा हुन सक्ने भन्दै आगामी दिनहरूमा व्यञ्जना अर्थमा पनि लघुकथा लेख्नु पर्ने , चिन्ता भावभन्दा चिन्तनको विषयलाई जोड दिनु पर्ने , मौलिक र पृथक शैलीलाई अपनाउनु पर्ने सुझाव दिनुभयो । प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अतिथि रुद्र अधिकारीले आशवादी र निराशवादी साहित्यको बारेमा आफ्नो प्रष्ट विचार राख्नु भयो साथै अतिथि लता के . सी´ ले पहिलो कृतिको लागि कृतिकारलाई बधाई तथा कृतिको सफलताको लागि शुभकामना दिनु भयो ।
कार्यक्रममा कृतिकारले कृतिभित्र आफुले प्रयोग गरेका पात्रहरू नै आफ्ना पाठक भएको बताउनु भयो ।आफ्नो लेखन यात्राको छोटो अवधिमा प्रकशित भएकोले पहिलो कृतिउपर देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता प्रकट गर्नु भयो ।कार्यक्रमको अन्त्यमा उपस्थित परिचर्चाकारहरू, आयोजक, सहजकर्ता , अतिथि र दर्शक सबैप्रति आभार व्यक्त गर्नु भयो ।
स्रोत – हाम्रो लघुकथा केन्द्र, नेपाल
