सम्पर्क

पाखर खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज

सुनकोशी गाउँपालिकाको ४, ५ र ६ जोड्ने झोलुङ्गे पुल बनेपछि सुनकोशी गाउँपालिकाका स्थानिय खुसी भएका छन् । पुल निर्माण भएपछि बर्खायामको समयमा सुनखानी–थुम्पाखरवासीले सास्ती भोग्न नपर्ने भएको छ । स्थानीय टोप बहादुर बस्नेतले भन्नुभयो, सुनकोशी–६ बाट सुनकोशी ४ र ५ जंगलमा घाँस, दाउरा गर्न जाँदा खोला तर्न नसकेका विगत उनीहरुलाई अहिले जस्तो लाग्छ । घाँस, दाउरा ल्याउँदा खोलामा तर्न नसकेर निकै गाह्रो हुन्थ्यो, धेरै पटक साथीहरुलाई खोलाले बगायो पनि तर अब पुल बनेपछि सबैलाई सजिलो भएको छ ।
सुनकोशी गाउँपालिकाको ३ वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल बनेपछि तिन वडाका स्थानीयलाई पाखर खोलामाथि आवातजावत गर्न निकै सजिलो भएको स्थानीय सुरेस लामाले बताउनु भयो । विगतका वर्षमा आवतजावतका लागि पाखर–खोला तर्नुपर्ने बाध्यता स्थानीयबासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयबासीले ज्यानसमेत गुमाउने गरेको लामाले बताउनुभयो । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उहाँको भनाइ छ । झोलुङ्गे पुल बन्नु अगाडि पाखर खोलामाथि पुरानो काठको पुलबाट स्थानीय आवतजावत गर्ने गरेका थिए । पाखर खोलामा पुल निर्माणका लागि आफूहरुले लामो समयदेखि प्रयास गरेपनि बल्ल पूरा भएको स्थानीय एवम सुनकोशी थुम्पाखर पाखर खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो । खोला बाट झण्डै २ किलोमिटर माथिबाट निर्माण सामग्री बोकेरै पुल निर्माण गरेको बस्नेतले बताउनुभयो ।
जनहित ग्रामीण सेवा समितिको प्राविधिक तथा सामाजिक सहयोग, सुनकोशी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम(स्वाप) को आर्थिक सहयोगमा ९७ मिटर लामो पुल निर्माण भएको छ ।
गाउँपालिकाको ७ लाख ७१ हजार ४ सय ४१, स्वाप कार्यक्रमबाट ४५ लाख ६४ हजार ४ सय ९३, पुल निर्माण सामग्री ४ लाख ७९ हजार ५ सय ४४, जनसहभागिता १ लाख १८ हजार ६ सय ८३ सहित कूल ५९ लाख ३४ हजार १ सय ६२ रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको शुक्रबार सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाले पुलसम्म आउने बाटो समस्या रहेकाले आगामी आर्थिक वर्षमा दुवैतर्फ सडक ल्याउनका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनु भयो । आफ्नो कार्यकालभित्र सुनकोशी गाउँपालिका भित्र आवश्यकताको आधारमा सबै खोलामाथि झोलुङ्गे पुल निर्माण सम्पन्न हुने गरेर काम सुरुवात गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कान्छि लामा वडाध्यक्षहरु जालबहादुर लामा, भोजलाल श्रेष्ठ लगायतले पुल निर्माणपछि यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज भएको बताउनुभयो ।