सिन्धुपाल्चोक/ १७ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोककाे चौतारा अस्पतालमा हाल भएको व्यवस्थामा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिने बताउनुभएको छ।
चीन सरकारको सहयोगमा सिन्धुपाल्चोककाे चाैतारामा निर्माण सम्पन्न भएको चौतारा अस्पताल नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै बस्नेतले हाल पचास वेड क्षमता रहेकाे उक्त अस्पतालमा पचास वेड थप गरि सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउनुपर्छ भन्दै प्रधानमन्त्री प्रचण्ड समक्ष उक्त व्यवस्था मिलाउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हाे । “सबै जिल्ला अस्पतालहरुलाई पचास वेडकाे स्वीकृत भइसकेको छ। प्रदेशकाे माताहतमा रहेकाे याे अस्पताललाई पचास वेड थपेर एक सय वेड बनाउन सकियाे भने नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिन्छ, यहीँबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ।” उहाँले भन्नुभयो । मन्त्री बस्नेतले मेडिकल शिक्षालाई सहज बनाउँदा नेपालबाट विदेश पढ्न जानेकाे आधा संख्या घट्छ भन्नुहुँदै सबै प्रदेशका एक सयदेखि तीन सयसम्म वेड रहेका अस्पतालमा नर्स, पारामेडिक्स पढ्ने व्यवस्था र तीन सय भन्दा माथि वेड भएका अस्पतालमा डाक्टर पढ्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री प्रचण्डकाे मन्त्रीपरिषदमा रहेर काम गर्दा स्वास्थ्य क्षेत्रमा काम गर्न सहज भएको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले काम गर्नका लागि अर्थ, शिक्षालगायत सराेकारवाला मन्त्रालयसंग सहजीकरणका लागि तत्कालै निर्देशन र समन्वय गर्दै उत्साहित गरेकाे बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवनिर्मित भवनकाे उद्घाटन गर्नुभएको थियो ।