सम्पर्क

चौतारा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेका चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गरिएको छ । आईतबार बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा गर्नुभएको हो । यससँगै चौतारा साँगाचोकगढी नगरपालिका औपचारिकरुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने सिन्धुपाल्चोकको पहिलो स्थानीय तह भएको छ । यसअघि बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौडाको ४५ लाख बजेटको योजनामा चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा अभियान चलाइएको थियो । सो अभियान अन्तरगत अभिभावक शिक्षा, बालग्राम देखि १० ओटा ई कक्षा ब्यवस्थापन, तथ्याङ्क संकलन लगायतको कार्य गरीएको नगर शिक्षा शाखाले प्रमुख बसन्त राज जोशीले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा सञ्चालित अभियानबाट बालबालिकालाई विद्यालय भर्ना गर्ने कार्य सकिएको र सो अभियान सफल भएपछि यो घोषणा गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यसअघि आधारभुत तह सम्मको शिक्षा मात्रै निशुल्क प्रदान गर्दै आएको यस शैक्षिक सत्र देखी माध्यामिक विद्यालयसम्मकै शिक्षा निःशुल्क गरेकोे हो ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने अभिप्रायले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान गरीएको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।
विद्यालयहरुको नक्सांकन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरूलाई ध्यान दिँदै विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले यो कदम चालिएको मेयर सापकोटाको भनाई थियो ।
कार्यक्रममा नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सबै वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख र कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र पत्रकारहरुलगायतको उपस्थिती रहेको थियो ।