पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।
“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भन्नुभयो । यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले बताउनुभयो । वि.सं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यसैबीच, सिन्धुपाल्चोक जिल्लामा १४ हजार ९ सय ७४ बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ । जिल्लाको १२ वटै पालिकाभित्रका विद्यालयहरूमा केन्द्र व्यवस्थापन गरेर अभियान सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
२०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका १२ वटै स्थानीय तहमा रहेको अधिकांश विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइउने अभियान सञ्चालन भएको जनस्वास्थ्य प्रमुख बजगाईले जानकारी दिनुभयो ।
अभियानपश्चात् पनि छुटपुट बालबालिकाको खोजी गरि स्वास्थ्य केन्द्रमा खोप दिने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयोे ।
