कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा आफुहरु कुनै पनि अवस्थामा सम्झौता नगर्ने जनाउनु भएको छ । उँहाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ’सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो भन्नु भएको छ । कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उहाँले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाउँनु भएको छ । पक्राउ पुर्जी जारी भएपछि उँहालेयस्तो बिज्ञप्ती निकाल्नु भएको हो । ’राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप कती पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ भन्नु भएको छ । सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मङ्गलवार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी गराएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो ।
